भारत टी-२० विश्वकपको सुपर ८ मा प्रवेश

काठमाडौं, ३० जेठ । भारतीय टोली आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ का लागि छनौट भएको छ । विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा अमेरिकामाथि ७ विकेटको जीत निकाल्दै भारतको सुपर ८ पक्का भएको हो ।
अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले ५० रनको अविजित अर्धशतकीय पारी खेले भने शिवम दुबे ३१ रनमा नटआउट रहे । अमेरिकाका सौरभ नेत्रभल्करले २ विकेट लिँदा अली खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । नितिश कुमारले २७ तथा स्टेभेन टेलरले २४ रन बनाए । कोरे एन्डरसनले १५ रन बनाए । भारतका अर्शदीप सिंहले ४ ओभरमा ९ रन दिएर ४ विकेट लिए । हार्दिक पान्ड्याले २ तथा अक्षर पटेलले १ विकेट लिए ।
यो नतिजासँगै समूह ए मा रहेको भारतको ३ खेलमा ६ अंक भएको छ । ३ खेलमा ४ अंक भएको अमेरिकाले अन्तिम खेल जितेमा वा अंक बाँडेमा मात्र पनि सुपर ८ मा छनौट हुने छ । अमेरिका पराजित भएपनि अन्य नतिजामा भर पर्नुपर्ने छ ।

