टी-२० विश्वकपमा नेपाल र श्रीलंकाबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदै

काठमाडौं, २९ जेठ । अमेरिकामा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले बुधबार विहान आफ्नो दोस्रो खेल खेल्दै छ । अमेरिकाको फ्लोरिडामा नेपालले टेस्ट राष्ट्र श्रीलंकासँग खेल्न लागेको हो । खेल विहान सवा ५ बजेदेखि सुरु हुने तय छ ।
नेपालले श्रीलंकाको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो । स्टार स्पिनर वानिन्दु हसरङ्गाको कप्तानीमा रहेको श्रीलंकाविरुद्ध विश्वकपकै कान्छा कप्तान रोहित पौडेलले नेपाली टोलीले नेतृत्व गर्ने छन् ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार व्यहोरेको थियो । श्रीलंका भने दक्षिण अफ्रिका र बङ्गलादेशसँग पराजित भएको थियो । दुवै टोली यस खेल जित्नैपर्ने दबाबमा हुने छन् । श्रीलंका पराजित भएमा बाहिरिने छ भने नेपाल पराजित भएमा बाँकी दुवै खेल ठुलो अन्तरले जितेर अन्य नतिजामा भर पर्नुपर्ने हुन्छ ।
नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बन्ने पनि उच्च सम्भावना छ । फ्लोरिडामा केहि दिनसम्म वर्षाकै सम्भावना सहितको मौसम पुर्वानुमान देखिएको छ । वर्षाका कारण खेल हुन नसकेमा दुवै टोलीले १-१ अंक बाँड्ने छन् ।
समूह डी मा अहिलेको अवस्थामा दक्षिण अफ्रिकाको ३ खेलबाट ६ अंक छ र सुपर ८ मा पुग्ने लगभग पक्का भएको छ । दोस्रो स्थानमा बङ्गलादेशको २ खेलमा २ अंक छ । समान खेलबाट समान अंक भएपनि नेट रनरेटका आधारमा नेदरल्यान्ड्स तेस्रोमा छ । अंकविहीन नेपाल र श्रीलंका क्रमशः चौथो र पाँचौंमा छन् ।

