पाकिस्तानमाथि अमेरिकाको सनसनीपूर्ण जीत

काठमाडौं, २५ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकपमा अमेरिकाले लगातार दोस्रो जीत निकालेको छ । बिहिबार मध्यराति सम्पन्न खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै सनसनीपूर्ण नतिजा निकालेको हो ।
सुपर ओभरमा अमेरिकाले बनाएको १८ रनको जवाफमा पाकिस्तानले १३ रन मात्र बनाउन सक्यो । त्यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरा २० ओभरमा ३ विकेट गुमाएर १५९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
इनिङको अधिकांश समय सहजै खेल जित्ने देखिएको अमेरिकाले अन्तिम ५ ओभरमा रनगति केही कम गर्दा अन्तिम ओभरमा १५ रन बनाउनुपर्ने अवस्था बनेको थियो । हारिस राउफले सुरुवाती ३ बलमा ३ रन मात्रै दिएपनि त्यसपछि छक्का र चौका व्यहोरेका थिए ।
अमेरिकाका कप्तान मोनान्क पटेलले सर्वाधिक ५० रन बनाएका थिए । आरोन जोन्स ३६ रनमा अविजित रहँदा आन्द्रियस गौसले ३५ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसीम शाह र हारिस राउफले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाउँदा शादाब खानले ४० रन बनाए । अमेरिकाका नोसथुस केन्जिगेले ३ विकेट लिँदा सौरम नेत्रभल्करले २ तथा अली खान र जेसी सिंहले १-१ विकेट लिए ।

