राष्ट्रिय बाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई एम्बुलेन्स र शवबाहन प्रदान

काठमाडौ।राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन बिहीवार प्रदान गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरे।
घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने भन्दै उनले प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने बताए।
प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार पनि व्यक्त गरे। प्रहरीमा स्रोत र साधनको कमि ठूलो चुनौतीको रूपमा रहेको बताउँदै उनले आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताए ।कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने उनको भनाइ थियो।

