पतिको दिर्घजीवनको कामना गर्दै बट-सावित्री पर्व मनाइयो

काठमाडौं ।श्रीमानको दीर्घजीवन तथा सुस्वास्थ्यको कामना गर्दै तराई मधेसदेखि काठमाडौं बस्ने नवविवाहित युवती र बृद्धासम्मले आज बट-सावित्री पर्व मनाएका छन् ।
रंगी चंगी लिवासमा सजिएकी महिलाहरु नजिकको वटवृक्षलाई सफा सुग्घर पारेर पूजा गरि यो पर्व मनाइन्छ ।रातो र पहेलो धागाले वटवृक्षको वरिपरि घेरा हाल्ने, सविधि पूजा पाठ गरी गर्मीबाट जोगाउन वटवृक्षलाई आराम गराएजसरी बोट सुमसुम्याउने चलन छ । तातो घाममा काम सकाएर घर फर्केका आफ्ना थकित श्रीमानलाई सेवा गरे जस्तै बरको बोटलाई उनीहरुले सेवा गर्छन् ।
प्रत्येक वर्ष जेठ अमावस्याको दिन श्रद्धा एवं भक्तिका साथ मनाईने बटसावित्री पर्वमा बटवृक्ष(बरको रुख) लाई पूजा गर्ने चलन छ । प्रकृतिपूजक मिथिला सभ्यतामा वट वृक्षलाई भने जेठ अमावश्याको दिन विशेष पूजा अर्चना गर्ने चलन रहेको बताइन्छ ।
बटसावित्री पूजा गर्न विहानैदेखि विवाहित महिलाहरुको भीड काठमाडौंका बटवृक्षमुनि लागेको थियो । व्रतालुहरुमा नवविवाहिता युवतीदेखि प्रौढ महिलाहरुको पनि उल्लेख्य सहभागिता थियो । रातो पहेलो लुगामा सजिएकी,कपालमा रातो सिन्दुर र आकर्षक गहना लगाएकी प्रौढ महिलाहरुको उत्साह हेर्न लायक थियो ।
गुह्हेश्वरी स्थित बरको रुखमुनि महिलाहरुको अलि बाक्लै जमघट थियो । यसैगरी अन्यत्र पनि महिलाहरू पूजाको लागि पुगेका थिए।तराइको हरेक बटवृक्ष मुनि श्रद्धालुहरुको ओइरो नै लागेको थियो । कोही रातो पहेलो धागोले बटवृक्षलाई घेरा हाल्दै त कोही रुखलाई पंखा समेत लगाइदिदै थिए।
हिन्दु सभ्यतामा श्रीमानलाई ‘वर’ पनि भनिन्छ । मिथिला संस्कृतिमा श्रीमानलाई देवताको रुपमा पूजा गर्ने पुरातन परम्परा हो । मैथिलानीहरु वर्षभरि आ-आफ्ना श्रीमानलाई पूजा गरे पनि जेष्ठ अमावस्याको दिन वटवृक्षलाई पतिको रुपमा पूजा गर्छन् । जसलाई वट सावित्री वा वरसाईत भनिन्छ ।

