ओमानलाई हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात

काठमाडौं, २४ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । बिहिबार विहान भएको खेलमा ओमानलाई ३९ रनले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।
अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले पूरा २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो । ओमानका लागि आयान खानले सर्वाधिक ३६ रन बनाए भने मेहरान खानले २७ र कप्तान आकिब इलियासले १४ रन बनाए ।
अस्ट्रेलियाका मार्कस स्टोइनिसले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने मिचेल स्टार्कले ३ ओभरमा २० रन दिएर २ विकेट लिए । एडम जाम्पाले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए । नेथन एलिसले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । मार्कस स्टोइनिसले ३६ बलमा २ चौका र ६ छक्कासहित अविजित ६७ रनको पारी खेले भने डेभिड वार्नरले ५६ रन बनाए ।
ओमानका मेहरान खानले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिए । बिलाल खान र कलिमुल्लाहले एक-एक विकेट हात पारे । ओमान यसअघि पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो ।

