अफगानिस्तानको घातक बलिङमा युगान्डाको फराकिलो हार

काठमाडौं, २२ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत मङ्गलबार विहान भएको खेलमा अफगानिस्तानले फराकिलो जीत निकालेको छ । अफगानिस्तानले युगान्डालाई १२५ रनले हराएको हो ।
अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा ५८ रनमा अलआउट भयो । रबिन्सन ओबुयाले सर्वाधिक १४ रन बनाए भने रियाजत अली शाहले ११ रन बनाए । अफगानिस्तानका फजलहक फारुखीले ४ ओभरमा ९ रन दिएर ५ विकेट लिए । नविन उल हकले २ ओभरमा ४ रन दिएर २ विकेट लिए । राशिद खानले २ र मुजीब उर रहमनले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । ओपनर रहमनुल्लाह गुरबाजले ७६ तथा इब्राहिम जाद्रानले ७० रन बनाए । मोहम्मद नाबी १४ रनमा अविजित रहे ।
कुनै समय २०० रन भन्दा बढी बनाउने रफ्तारमा रहेको अफगानिस्तानले अन्तिम ५ ओभरमा २७ रन मात्र जोड्दा ४ विकेट गुमायो । युगान्डाका कप्तान ब्रायन मसाबाले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । कसमस केयुटाले ४ ओभरमा २५ रन दिएर १ विकेट लिए । अल्पेश रामजानीले १ विकेट लिए ।

