श्रीलंकालाई ७७ रनमै अलआउट गर्दै दक्षिण अफ्रिकाको जीत

काठमाडौं, २२ जेठ । आइसिसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले जीत हासिल गरेको छ । समूह डी को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको हो ।
श्रीलंकाले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकी टोलीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । क्विन्टन डिककले सर्वाधिक २० रन बनाए भने हेनरिच क्लासेन १९ रनमा अविजित रहे । ट्रिस्टन स्टब्सले १३ र एइडेन मार्क्रमले १२ रन बनाए ।
श्रीलंकाका कप्तान वानिन्दु हसरङ्गाले ३.२ ओभरमा २२ रन दिएर २ विकेट लिए । त्यस्तै दसुन शनकाले ३ ओभरमा ६ रन दिएर १ विकेट लिए । नुवन थुसाराले ३ ओभरमा १८ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९ ओभर १ बलमा ७७ रनमै अलआउट भएको थियो । कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । एन्जेलो म्याथ्युजले १६ र कमिन्दु मेन्डिसले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिकाका एनरिच नोर्त्जेले घातक बलिङ गर्दै ४ ओभरमा ७ रन मात्र दिएर ४ विकेट लिए । त्यस्तै कगिसो रबाडाले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । केशव महाराजले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । ओटनिल बार्टमानले ४ ओभरमा ९ रन दिएर १ विकेट लिए ।
विश्वकपमा आज:
अफगानिस्तान भर्सेस युगान्डा, विहान सवा ६ बजे
नेपाल भर्सेस् नेदरल्यान्ड्स, बेलुकी सवा ९ बजे

