नेदरल्यान्ड्सलाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा नेपाल

काठमाडौं, २२ जेठ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा जारी आइसिसी टी-२० क्रिकेट विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दै छ । अमेरिकाको डलास स्थित ग्रान्ड प्रेरी मैदानमा नेपालले नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति सवा ९ बजेदेखि सुरु हुने छ । नेपालको कप्तानी रोहित पौडेलले गर्ने छन् भने नेदरल्यान्ड्सको कप्तानी स्कट एडवार्ड्सले गर्ने छन् । खेलको प्रत्यक्ष प्रसारण आइसिसी टिभीको वेबसाइट र एपमा निशुल्क हेर्न सकिनेछ भने स्टारको च्यानलमा पनि हेर्न सकिनेछ ।
नेपाल १० वर्षपछि विश्वकपमा सहभागी हुँदा सुखद सुरुवातको सोचमा हुने छ । सुपर ८ मा पुग्नका लागि नेपालले कम्तिमा पनि दुई खेल जित्नुपर्ने हुन्छ र त्योमध्ये एक जित नेदरल्यान्ड्ससँग आउन सक्ने छ ।
यस खेल हुने मैदानमा पहिलो खेल अमेरिका र क्यानडाविरुद्ध भएको थियो जसमा प्रशस्त रन बनेको थियो । क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका आरोन जोन्सले ४० बलमा १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । नेपालले भने वार्मअप खेलमा क्यानडासँग १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो ।
नेपालले नेदरल्यान्ड्सलाई हराउनका लागि ब्याटिङ बलिङ दुवैमा सजग रहनुपर्ने हुन्छ । नेपालको ओपनिङ पछिल्लो समय राम्रो हुन सकेको छैन । त्यस्तै बलिङतर्फ डेथ बलिङमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
नेपालले नेदरल्यान्ड्ससँग पछिल्लोपटक नेपालमै भएको त्रिकोणात्मक श्रृंखलाको फाइनलमा खेलेको थियो । उक्त खेल नेदरल्यान्ड्सले जितेको थियो । हालसम्म दुई टोली १२ पटक भिड्दा नेपालले ५ खेल जितेको छ भने नेदरल्यान्ड्सले ६ खेल जित्दा एक खेल नतिजाविहिन थियो ।

