पार्टी फुट्ने संकेतपछि माधव नेपालको ‘फन्को’ !

काठमाडौं, १९ जेठ । नेकपा एमालेबाट छुट्टीएर गठन भएको नेकपा (एकीकृत समाजवादी) फुट्ने अवस्थामा पुगेको छ । एमाले पार्टी छाडेर २ वर्ष देखि नयाँ पार्टीमा संघर्ष गरिरहेका धेरैजसो नेताकार्यकर्ताले अब एमाले मै फर्किने भन्न थालेपछि अध्यक्ष माधवकुमार नेपाल रन्थनिएका छन् । उनलाई सम्मानित नेता झलनाथ खनाल समेतले छाड्ने संकेत गरेका छन् ।

राष्ट्रिय राजनीतिमा आफुलाई छुट्टै पहिचान दिन नसकेर गठबन्धन भित्रै ‘गोलचक्कर’ लगाइरहेका पुर्व प्रधानमन्त्री समेत रहेका समाजवादीका अध्यक्ष नेपाल आफैं पनि पछिल्लो समय अस्थिर छन् । उनी सत्ता गठबन्धनमा रहेपनि घरीघरी विपक्षी गठबन्धनतिर समेत आउजाउ गर्न थालेका छन् । तीन दिन अघि पनि अध्यक्ष नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएर पुनःसत्ता गठबन्धनमा मिसिएका छन् ।

अध्यक्ष नेपाल विपक्षी मोर्चाको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठ पुगेका थिए । यद्यपि त्यहाँ जानु अघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुमति लिएको खबर समेत सार्वजनिक भएका छन् ।

नेपालले बुढानिलकण्ठ भेलामा सभापति देउवा सहित लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । उनको यो ओहोरदोहोरलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ मन पराएका छैनन् । ओली र प्रचण्ड मिलेर शुक्रबार दिउँसो नेपाललाई र्‍याखर्‍याख पारेका थिए। त्यस लगत्तै नेपालले प्रधानमन्त्रीलाई सोधेर गएको स्पष्टीकरण दिनुपरेको थियो भने प्रधानमन्त्री प्रचण्डले ‘हो’ भन्नु परेको थियो।

पार्टी महाधिवेशनको तयारीमा रहेको नेकपा एस संघीय सरकारमा गठबन्धनसँगै भएर पनि प्रदेशहरुमा खासै भाउ पाइरहेको छैन । कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली र गण्डकी सरकारमा नेकपा एसको अस्तित्व नै छैन भने सुदुरपश्चिम सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री दिर्घ सोडारीको सरकार पनि यतिवेला घरको न घाटको अवस्थामा पुगेको छ । विश्वासको मत दिएपनि त्यहाँ एमालेले सोडारी नेतृत्वको सरकारमा जान खोजेको छैन।

यता केन्द्र सरकारमा बसेर पनि खासै प्रगति हुननसकेको भन्दै केही नेताले पार्टीले गठबन्धन र सरकार छाड्नु पर्ने भनिरहेका छन् । सरकार छाड्ने र गठबन्धन छाड्ने कुराले पार्टी छाड्ने नेताकार्यकर्ताको मनस्थिति बन्दै गएको बुझिएको छ। यस्तै अवस्था रहेमा समाजवादी भित्र ठुलो हलचल हुने निश्चित रहेको स्रोतको भनाइ छ।

अहिले समाजवादीमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच दुरि बढ्दै गएको छ भने उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद मेटमणी चौधरी बाहेक बाकी ७ सांसद एमालेमै फर्किन परे पनि तयार रहेको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय