एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु, दुई घाइते

रासस

लुम्बिनी, ६ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका- १३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल- १३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल- ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट अन्य दुई जना महिला घाइते भएका छन् ।

एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय