सुहाङको सपथसँगै संसद प्रवेश

काठमाडौं । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङ औपचारिक रुपमा संसद प्रवेश गरेका छन् ।
सभामुख देवराज घिमिरेले बुधबार बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाएर औपचारिक रुपमा संसद सदस्य बनाएका हुन् । सभामुख घिमिरेले सुहाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिएका थिए। सोही अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन/नियमका सामग्री प्रदान गरेका थिए।
कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए।
नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व सभामुख स्व.सुभाषचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ २७ हजार ७ सय ७२ मतसहित इलाम-२ बाट विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।
त्यसैगरी सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले तेस्रो स्थान ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी लगायत अन्य १६ जना उम्मेदवारको धरौटी जफत भएको थियो।

