चुनाव र सत्ताबारे प्रचण्डलाई गाली गर्ने विप्लव आफैं चुनावमा जाने

काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले कुनैबेला जनयुद्धका आफ्ना सर्बोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराईलाई संसदीय चुनाव उपयोग गर्दै सत्तामा गएको भनेर ‘लालगद्दार’ र धोखेबाज सम्म भन्थे।

प्रचण्ड र बाबुरामले क्रान्तिलाई धोका दिएको र सर्वहारा गरिव जनतालाई झुक्याएर पुरानो सत्तासँग सहिदको रगत साँटेको भन्दै मोहन बैद्द ‘किरण’ र सिपि गजुरेल ‘गौरव’ सहित २०६९ मा छुट्टै पार्टी गठन गरेर पुनः जनयुद्ध गर्ने विप्लवको उद्घोष थियो। त्यसको दुई बर्ष पछि पुनः त्यहाँबाट पनि बिद्रोह गरेर केही समय भुमिगत क्रान्ति समेत गरेका उनै क्रान्तिकारी नेता विप्लवले आगामी ०८४ को चुनाव उपयोग गर्ने भएका छन् । त्यतिमात्र होइन उनले १० बर्षे जनयुद्ध कालिन माओवादी घटकबिच एकता गर्ने सम्मको प्रस्ताव पनि पार्टीमा पारित गराएका छन् ।

विप्लवले माओवादी घटकबिच पार्टी एकता र आगामी ०८४ को निर्वाचन उपयोग गर्ने नीति अघि सारेको सार्वजनिक गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले यस विषयमा महत्त्वपूर्ण निर्णय गरेको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को भनाइ छ। यद्यपि विप्लव सहित उनका धेरैजसो नेतामाथी अहिलेपनी हत्या,अपहरण र हिंसाको मुद्दा यथावत छ।

तर,देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै उनले वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको पुष्टि गर्दै चुनावलाई उपयोग गर्ने निर्णय भएको बताए।‘विचार मिल्नेसँग एकता गर्दै जानुपर्छ । त्यसका लागि पहिला माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्ने, त्यसपछि सबै कम्युनिस्ट पार्टीसँग पनि एउटै कम्युनिस्ट आन्दोलन निर्माण गर्न सकिन्छ कि भन्नेमा बहस गर्ने । त्यति अहिले गर्न नसके स्वाधीनताका रक्षाका लागि एउटा वृहत् कम्युनिस्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै विप्लवले भने ।

साथै वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने पनि उनको भनाइ छ । देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीन वटा विकल्प पनि विप्लवले अघि सारेका छन् । ‘पहिलो, संविधान परिवर्तन गरेर समाजवादी संविधान बनाउने । दोस्रो, बुर्जुवा गणतन्त्र कि साम्यवादी गणतन्त्र भन्नेमा जनमत सङ्ग्रहमा जाने । तेस्रो, जनवादी आन्दोलन गरी समाजवादी शक्ति निर्माण गर्ने । त्यसका लागि समाजवादी शक्तिको नेतृत्वमा सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने’, उनको भनाइ छ ।

यस्तै नेकपाले २०८४ को निर्वाचनलाई समाजवादको अभियानका रूपमा उपयोग गर्ने नीति अघि सारेको र चुनावी मोर्चाको उपयोगबारे विप्लवले भनेका छन्, ‘संसद् र सरकार बनाउन मात्र पार्टीले चुनावको उपयोग गर्न लागेको होइन । समग्र समाजवादी अभियानका रूपमा यसलाई प्रयोग गर्न सकिने सम्बन्धमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।’

यस्तै पार्टी बैठकले साम्यवादी व्यवस्था स्थापना गर्नका लागि चार मित्र शक्ति, चार मित्र वर्ग र ६ मित्र समुदायको अवधारणा ल्याएको छ । चार मित्र शक्तिमा कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी छन् । यी शक्तिलाई एक ठाउँमा ल्याउन जोड गर्ने निर्णय नेकपाको छ ।

चार मित्र वर्गमा किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग रहेका छन् । यी चार वर्गसँग सहकार्य गर्ने सो पार्टीको नीति छ ।यस्तै ६ मित्र समुदायमा जनजाति, खस आर्य, श्रमिक समुदाय, मधेस, मुस्लिम र महिला छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय