इलाममा १० हजार मत गनिसक्दा २ उम्मेदवार शुन्य !

काठमाडौं, १६ वैशाख । इलाम निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना जारी रहेका बेला १९ मध्य दुई जना उम्मेदवार अझै ‘शुन्य’ मै छन् ।

झन्डै १० हजार मत गनिसक्दा २ उम्मेदवारको अहिलेसम्म खाता खुलेको छैन। स्वतन्त्र उम्मेदवारी दिएका डाक प्रसाद गौतम र मनोज निरौलाको अहिलेसम्म ‘शून्य’ मत छ।

यसैगरी चुनाव नै जित्ने ग्यारेन्टी गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनाल चुनावी कमान्डर बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवारको अवस्था पनि दयनीय छ । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४ हजार मत कटाउदा एमालेलाई सिध्याउने भनेको समाजवादीका उम्मेदवारले जम्मा १४ मत पाएका छन् । समाजवादीका उम्मेदवार जितबहादुर राईले भन्दा बढी राप्रपाका उम्मेदवारले ल्याएका छन् । राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले २४ मत ल्याएकी छन् ।

इलाम-२ मा एमालेका सुहाङ पछि नेपाली कांग्रेसका डम्बर खड्का दोस्रोमा छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो छन् । यहाँ १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय