भारतले नेपाली चियाको निर्यात रोक्यो

झापा, ८ वैशाख । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया हिजो भारतले रोकेको हो ।

चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिए। तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उनको भनाइ छ ।

चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । नेपालबाट सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ ।

नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीकाअनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन ।

भारतको कोलकाता, दिल्ली, पटनालगायत ठाउँका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...