बाबुरामको पालुङटार र विश्‍वदीपको बालुवाटार कनेक्सन !

शिरज शर्मा

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका सहयोगी रहेका एकजना युवा विश्‍वदीप पाण्डे सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देखिए। बालुवाटार छिर्नुअघि फेसबुकमा एउटा स्टाटस पनि लेखे।

काँधमा एउटा सामान्य खादा लगाएर प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाएर मुस्कान दिएका पाण्डेले नेपाल समाजवादी पार्टी छाडेर माओवादीमा फर्केको समाचार आफैंले लेखाए । पाण्डे थरका ती युवा मेरो चिनजानका होइनन् तर, उनलाई नजिकबाट चिन्नेहरुले भने अनुसार उनी आफैं एउटा मिडिया मालिक हुन् रे ! भनिन्छ- उनी अन्य मिडियामा पनि आफ्नो समाचार आफैं लेखाउन खप्पिस थिए, जुन कुरा उनले २०७९ को चुनाव ताका बाबुराम र प्रचण्डलाई आफुले मिलाएको भन्दै मिडियामा आफ्नै हवाला दिएर समाचार लेखाएका थिए।

यतिसम्म कि उनले नै बाबुरामलाई कन्भिन्स गरेर उनको निर्वाचन क्षेत्र गोरखा-२ प्रचण्डलाई मिलाइदिएका हुन् रे ! त्यसो त यिनी पावरको प्रयोग गर्न माहिर छन् भन्ने पनि सहकर्मीहरु नै बताउँछन् । त्यही पावर प्रयोग गरेर यिनले आफ्नो विवाहमा प्रचण्ड-बाबुराम दुबैलाई हेलिकप्टरमा बुटवल बोलाउन सके। बोलाएका मात्रै होईन बेहुला बेहुलीसँगै उभ्याउन र फोटो खिचाउन समेत सफल भए । त्यसदिन प्रचण्ड-बाबुरामको पोखरामा कार्यक्रम हुँदा त्यो कार्यक्रम भन्दा बढी महत्त्व उनीहरुले यिनको बिहेलाई दिएका थिए।

पछिल्लो समय डा.भट्टराई गोरखाको आफ्नो पुर्ख्यौली घर पुनर्निर्माण र गाउँबेशीमा नै व्यस्त छन् । उनको घर पालुङटार नगरपालिका-१ खोप्लाङ हो । बाबुराम पालुङटार हुँदा उनका पार्टीका केही नेता खुमलटार र बालुवाटार कनेक्सनमा हुन्छन् । यो अहिले मात्रै भएको होइन । बाबुरामले विश्वास गरेका केही व्यक्ति प्रचण्ड निवास खुमलटारदेखि पेरिसडाँडा कनेक्सनमा जोडिएर त्यहीँको खर्चमा दैनिकी चलाउन थालेको धेरै भैसकेको थियो । तर,बाबुराम यी कुरा मान्न तयार थिएनन् । झन् विश्वदिपलाई त बाबुरामले त्यस्तो सोच्ने कुरै भएन। आज पनि बाबुरामलाई विश्‍वदीपसँग सायद गुनासो छैन होला । किनभने बाबुरामले छोरी मानुषीलाई भन्दा बढी विश्वास विश्‍वदीपलाई नै गर्थे र अझै गर्छन् होला !

बाबुराम गोरखा पुगेर कागती, सुन्तला, लिची, कटहर र एभोगाडोको विरुवा हुर्काइरहँदा उनका अति नजिक भनिएकाहरु बालुवाटार पुगेर प्रचण्डपथमा मलजल गरिरहेका हुन्थे । बाबुराम पालुङटार भएकै बेला उनको पार्टी नै ‘माओवादीसँग एकता’ भनेर विज्ञप्ति जारी भयो । त्यसको चाँजोपाँजो मिलाउने मुख्य व्यक्तिबारे थाहा पाएर पनि बाबुराम अहिले पनि अनभिज्ञ भइदिन्छन् । बाबुरामलाई पालुङटार प्रति जति माया छ त्यो भन्दा बढ्ता माया गङ्गानारायण र विश्‍वदीपहरुलाई बालुवाटारको छ । किनभने बाबुरामले पालुङटारमा रोपेको बिरुवामा फल लाग्ने नलाग्ने ग्यारेन्टी छैन तर, बालुवाटारमा अहिले लटरम्म फल लागेको कुरा बाबुरामलाई भन्दा बढी उनलाई छाडेर जानेहरूलाई थाहा छ।

हुन त बाबुरामलाई पूर्व प्रधानमन्त्रीको रुपमा बाहेक म नजिकबाट चिन्दिन । तर, उनको नाममा राजनीति गर्ने, फाइदा लिने र प्रचण्डसँग बार्गेनिङ गर्ने थुप्रै थिए र छन् रे ! उनी माओवादी पार्टीमा हुँदा उनको लाइन (बाबुराम लाइन) भनेर चिनिने तर, भित्र भित्रै प्रचण्डसँग नजिक हुनेहरु थुप्रै थिए । उनीहरु मध्ये धेरैलाई प्रचण्डकै कृपाले सांसद, मन्त्री, राजदुत लगायत राजनीतिक नियुक्ति मिलेको कुरा अहिले पनि चर्चा भइरहन्छ । हिजो बाबुराम लाइनमा बसेर राजनीति गरेका र अहिले प्रचण्डसंग निकट भएका नेताकार्यकर्ताको जीवन स्तर उकासिएको देखिरहेका केही नेता आजपनी माओवादीमा हाम फाल्न आतुर छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष मध्यका एक महेन्द्रराय यादव, सह-अध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ लगायत केही नेता अहिले माओवादीमा भित्रिन बालुवाटारमै धर्ना दिइरहेका छन् । उनीहरु गेटमा पालो कुरेर बस्दाबस्दै विश्‍वदीप पाण्डेले सिधै प्रवेश पाएपछि अब माओवादीमा उनीहरुको दर्जा ‘जुनियर माओवादी’ हुने निश्चित छ। जसरी बाबुरामले नयाँ शक्ति पार्टी घोषणा गर्दा उनीसँगै उभिएका तर, बाबुरामको समृद्धिको बाटोमा फाइदा नदेखेर पुनः प्रचण्ड पथमै लागेकालाई कार्य विभाजन हुँदा सिनियर र जुनियर भनेर दर्जा दिइएको थियोे !

बाबुरामले विकास र समृद्धिका कुरा गर्दा बाबुरामको विरोध गर्ने प्रचण्ड र उनका कम्पनी संचालकहरुले अबको यात्रामा नव प्रवेशी हरुलाई कस्तो व्यवहार गर्ने हुन् त्यो चाहिँ हेर्न बाँकी छ। यदि बालुवाटार बोलाएर खादा ओढाए जस्तै प्रचण्डले पार्टी भित्र पनि सम्मानजनक पद र उपयुक्त मौका दिए भने बाबुराम छाड्नेहरुको भविष्य अझै सुखद हुनेछ । आशा गरौं, बाबुरामसँग बसेर भविष्य अन्धकार देख्नेहरुलाई प्रचण्डले पक्कै मौका दिनेछन् र भविश्य चम्किलो हुनेछ !

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय