सरकारसँग भिड्ने मुडमा राप्रपा !

काठमाडौं,२६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि (चैत २७ गते) काठमाडौका निषेधित क्षेत्र तोड्ने र सरकारले जबर्जस्ति गरे भिड्ने सम्मको तयारी गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरु शान्तिपूर्ण प्रदर्शन मार्फत पार्टीका कार्यक्रम अगाडि बढाउन तयार रहेको तर सरकारले कुनैपनी बहानामा निषेधित क्षेत्र घोषणा गरेर दु:ख दिन खोजेमा सशक्त प्रतिवाद हुने चेतावनी दिए।
पार्टीका तर्फबाट सरकारलाई विभिन्न ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले भोली मंगलबार काठमाडाैंमा प्रदर्शन गर्ने भब्य तयारी गरेको छ । प्रदर्शनको तयारी र योजना बारे पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष लिङ्देनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता कुरामा अब नयाँ सम्झौता आवश्यक भएको बताए। उनले संघीयता,धर्मनिरपेक्षता तथा राजतन्त्र बारे पुनर्बिचार गर्न सरकार र दलहरुलाई आग्रह समेत गरे।
उनले आफुहरुको माग यो व्यवस्था उल्टाउने नै भएको भन्दै कुनै कुराको बार्गेनिङ गर्न मात्रै आन्दोलन घोषणा नगरिएको स्पष्ट पारे।उनले भने-,’हामी यो ब्यबस्थासँग सम्झौता वा बार्गेनिङ गर्न खोजेका होइनौं,हामीले भन्न खोजेको के हो भने यो ब्यबस्था जति पालेर जान्छौं, त्यति देश जनताले क्षति व्यहोर्नुपर्छ।’ उनले राजादेखि माओवादीसम्म सबै शक्ति अटाउने व्यवस्था आवश्यक रहेको तर संघीयता ब्यर्थ भएको टिप्पणी समेत गरे।
पत्रकारको जिज्ञासामा अध्यक्ष लिङ्देनले प्रदर्शनमा सबै प्रकारका निषेधाज्ञा तोड्ने कुरालाई जोड दिए। उनले राज्यतर्फबाट अवरोध भएको खण्डमा प्रतिकारमा उत्रिन पनि तयार रहेको र त्यसका लागि ५० हजारभन्दा बढी मानिस काठमाडौं आउन लागेको भनाइ थियो।
सरकारले सभा जुलुस गर्न पाउने अधिकार कुन्ठित गर्दै प्रदर्शनलाई साँघुर्याउने प्रयास गरेकाे भन्दै उनले राप्रपाको प्रदर्शनमा त्यस्तो व्यबहार देखिए लड्ने भिड्ने ताकत आफुहरुसँग भएको चेतावनी पनि दिए। उनले भने,-‘सरकारले कथित निषेधित क्षेत्र घोषणा गरेर हामीलाई अवरोध गर्न खोज्यो भने त्यसको प्रतिवाद गर्नेछौं । राप्रपा निषेधित क्षेत्र तोडेर अगाडि बढ्ने छ ।’

