‘महाजात्रा’ हेरेपछि बाबुरामले के भने ?

काठमाडौ। पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रदिप भट्टराई निर्देशित बहुचर्चित नेपाली चलचित्र ‘महाजात्रा’को प्रशंसा गरेका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा.भट्टराईले मंगलबार चलचित्र ‘महाजात्रा’ हेरेपछि लेखेका छन्-,’प्रदिप भट्टराई लिखित/निर्देशित चलचित्र “महाजात्रा” मनोरन्जन,भावुकता र सामाजिक/राजनीतिक सन्देशको उचित संयोजन रहेको उत्कृष्ट प्रस्तुती लाग्यो।
देशमा उच्च तहमा रहेको भ्रष्टाचार, समाजको अपराधिकरण, वेरोजगारीको दर्दनाक अवस्था, परिवारको विग्रह लगायतका विषयवस्तु वस्तुपरक र कलात्मक ढंगले प्रस्तुत गरिएका छन्।
सत्यनिष्ठामा रहन प्रयत्न गर्नेहरूका निजी र पारिवारिक पीडा निकै मार्मिक ढंगले उठाइएका छन्।
महिला पात्रहरूलाई सधैं पुरूषहरूको लाचार छायाॅको रूपमा उभ्याइने फिल्मी परम्परालाई तोड्दै उनीहरूको स्वायत्तता र सत्यनिष्ठामा जोड फिल्मको विशेष सबल पक्ष मान्नुपर्दछ।
कलाकारहरूको अभिनय कौशल र एकसाथ हाॅसो र रूवाइको सहज प्रस्तुती वेजोड छ।

वैचारिक हिसाबले मानिस र समाजको भ्रष्ट र अपराधिक प्रवृत्तिलाई उपदेशबाट हैन उपयुक्त संघर्षको माध्यमबाट वा “जस्तालाई तस्तै” को तरिकाले मात्र निष्तेज वा रूपान्तपण गर्न सकिन्छ भन्ने फिल्मको पुछारको सन्देश मलाई निजी रूपमा बढी घत परेको विषय हो!
अघिल्लो खण्डलाई अलि छोट्याउन, प्रहरीको भूमिकालाई बढी संस्थागत गर्न सकेको भए शायद सुनमा सुगन्ध हुन्थ्यो।
आफ्नै देशका यस्ता रचनात्मक चलचित्रहरूलाई आर्थिक रूपले सबल पार्न र प्रोत्साहित गर्न हलमा पुगेर हेर्ने वानी जनस्तरबाट पनि बसाल्ने कि?’

