६७ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम सहित मनाइयो
काठमाडौ,२० चैत । मंगलबार ६७ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका साथ सहकारी दिवस मनाइएको हो।राष्ट्रिय सहकारी महासङ्घ लगायतका सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर सरसफाइ,रक्तदान लगायत विविध अन्तरक्रियात्मक कार्यक्रमहरु सम्पन्न गरेका छन् ।
यसै सन्दर्भमा कामपा-६ महाङ्काल स्थित अलौकिक सपनावती सहकारीले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। सहकारी दिवसको अवसरमा ज्ञात अज्ञात सहिद पार्क लगायत क्षेत्रमा सरसफाइ गरिएको कार्यालय प्रमुख पुरुषोत्तम नेपाल(पुरु) ले जानकारी दिए।

देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी संस्थाहरु रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झन्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी दिएको छ ।
कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ । यति हुँदा हुँदै पनि कतिपय संस्थाले सहकारी सिद्धान्त अनुसार नचल्दा समस्या समेत देखिएको छ। सहकारी क्षेत्रमा सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्नुले सहकारी प्रती गुनासो आउने गरेका छन् । तर, धेरै जसो सहकारी संस्थाहरु असल नियतका साथ संचालन भएको र आम नागरिकलाई बित्तीय सहजीकरण गरिरहेको छ।

