गल्ती सच्याऔँ !

डा.बाबुराम भट्टराई

नयाँ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो । जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए । बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासँग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए । पुष्पलाल आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए !

दिनदिनै रेडियोबाट समाचार आउँथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पंचायत प्रवेश गरे ! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे ! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे – राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय वर्ष टिक्ने भयो !

अर्को वर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए ! राजनीति अलि खुकुलो भयो र पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले ! फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो !

पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट विदा भए ! बिपीले केही वर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।

दस वर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए।

परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाॅ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो!

तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाॅ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्।बाबुरामहरू जस्ता केही “मूर्ख” हरू नयाॅ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरैौ र नयाॅ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!

के इतिहासको गति रोकिन्छ त? भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ति सच्याऔँ, इतिहास दोहोरिन नदिऔँ!

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय