नेपाल ‘ए’ द्वारा आयरल्यान्ड ‘ए’ लाई २१४ रनको लक्ष्य

काठमाडौं, १९ चैत । काठमाडौंमा जारी नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको टी२० श्रृंखलाअन्तर्गत आज तेस्रो टी२० खेल भइरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपाल ए ले आयरल्यान्ड ए सामू २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको पारी खेले । ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै राशिद खानले १३ बलमा २५ रन बनाए । कमल सिंह ऐरी १९ रनमा अविजित रहे ।
आयरल्यान्ड ए का लागि फियोन ह्यान्डले ४ ओभरमा ४१ रन दिएर २ विकेट लिए । त्यस्तै गेभिन होए, लियाम मेकार्थी, म्याथिउ फोस्टर गारेथ डेलानीले १-१ विकेट लिए ।
नेपाल ए यस श्रृंखलामा २-० ले पछाडि छ । क्लिन स्वीपबाट जोगिन नेपाललाई जित्नैपर्ने दबाब छ ।

