मध्यरातमा प्रचण्ड-देउवाको बालुवाटारमा गोप्य !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मध्यरातमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा राति १० बजे प्रचण्डलाई भेट्न देउवाले अन्य केही नेता लिएर गएपनी प्रचण्डको बैठक कक्षमा भने उनि एक्लै पुगेका थिए। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच झण्डै १ घण्टा छलफल भएको थियो। त्यसपछि ११:२० मा देउवाको गाडी बालुवाटारबाट निस्केको स्रोतले जनाएको छ।
इलाम क्षेत्र नम्बर-२ को निर्वाचनमा सघाउन सभापति देउवाले प्रचण्डलाई प्रस्ताव राखेको तर कुनै ठोस निर्णय नभएको बुझिएको छ। यसैगरी बाम गठबन्धन गरेकोमा आफ्नो गुनासो नभएको तर जनताको शंकाको घेरामा रहेका सहकारी ठगीमा नाम जोडिएका ब्यक्तिलाई गृहमन्त्री बनाएकोमा भने देउवाले असन्तुष्टि जनाएका थिए। उनले रास्वपा सभापति रवि लामिछानेको बिषयमा बाहिर राम्रो कुरा नभएको प्रचण्डलाई भनेका थिए।
भेटमा टीआरसी विधेयक र प्रदेश सरकारको बारेमा समेत कुराकानी भएको थियो। स्रोतका अनुसार मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री प्रचण्डबीच पनि गोप्य भेट भएको थियो। त्यसपश्चात कांग्रेसका अन्य नेता लिएर सभापति देउवा बालुवाटारमा प्रचण्डलाई भेट्न गएका हुन्।
भेटमा देउवाले आन्तरिक रुपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए। नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक छलफल भएको हो। तर, दुई नेताको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

