पल शाह र समिक्षा अधिकारी एउटै मञ्चमा सम्मानित

काठमाडौ,३ चैत । अभिनेता पल शाह र गायिका समिक्षा अधिकारी एउटै मञ्चमा सम्मानित भएका छन् । उनीहरुले आफ्नो कला समेत प्रस्तुत गरेका थिए।

विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औं संस्करणमा उनीहरु सम्मानित भएका हुन् । पहिले नजिकका साथी पल र समिक्षा केही बर्षदेखी कट्टर दुश्मन हुन् । एक अर्काको मायामा रहेको भनेर चर्चा चलिरहेका बेला एक्कासी समिक्षाको तर्फबाट पललाई मुद्दा  दर्ता भयो। सोही मुद्दामा सफाइ पाएका पल झन्डै १ बर्ष जेल समेत बस्नुपर्‍यो।

अवार्ड समारोहमा पुरानो पुस्ताकी लोकप्रिय गायिका मीरा राणादेखि पछिल्लो पुस्ताकी गायिका बेनिशा पौडेल सम्म सम्मानित भए। गायिका राणालाई एक लाख रुपैयाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड-२०८०’ ले सम्मान गरियो। उनको सम्मानमा नयाँ पुस्ताकी गायिका बेनिशा पौडेलले मिरा राणाको लोकप्रिय गीत ‘मखमली चोली चाहिँदैन’ गाएकी थिइन्।

साथै, विन्ध्यवासिनी म्युजिक अवार्डको यो संस्करणमा ३१ विधाका संगीतकर्मीलाई सम्मान प्रदान गरियो। जसमा संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपैयाँ राशिको ‘विन्ध्यवासिनी साधना सम्मान’ अर्पण गरियो।

पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी ‘कला पत्रकारिता सम्मान’, गायक रुपक डोटेललाई ‘प्रेमध्वज संगीत रत्न सम्मान’ तथा लोकगायक राजु परियारलाई ‘झलकमान लोकसंगीत सम्मान’बाट सम्मान गरियो। यी सम्मानको राशि २५ हजार रुपैयाँ छ। समारोहमा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित ‘अनवरत लोकदोहोरी श्रष्टा सम्मान’बाट सम्मान गरियो।

समारोहमा आधुनिक गायनतर्फ बेनिशा पौडेल, लोक तथा दोहोरी गायनतर्फ समीक्षा अधिकारी, गीतकारतर्फ सविता पोखरेल, अभिनयतर्फ सञ्चिता शाही, सम्पादनतर्फ दीपक विष्ट, निर्देशनतर्फ काजिश श्रेष्ठलाई जुरी अवार्ड प्रदान गरियो।

समारोहमा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीलाई प्रदान गरियो।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय