‘गैरकानुनी धन्दा र अपराधमा संलग्नलाई कारवाही गर्न मेरो आदेश कुर्नु पर्दैन’

काठमाडौं, २९ फागुन । गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम र अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस राख्दै देशभरका प्रहरीलाई उक्त अपिल गरेका हुन्।
उनले लेखेका छन्:
‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन’, गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो? तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्नेगरी काम गर्नुहोस्। मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला)।’

