प्रचण्डबाट राजनीतिक बेइमानी भएको काँग्रेसको निष्कर्ष

काठमाडौं, २४ फागुन । नेपाली काँग्रेसले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट राजनीतिक बेइमानी भएको निष्कर्ष निकालेको छ । बिहिबार विहान बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर राजनीतिक बेइमानी र विश्‍वासघात गरेको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस गठबन्धनप्रति सधैं इमान्दार रहेको तर प्रचण्डबाट भने विश्‍वासघात भएको बताए । ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौं । तदअनुसार नै काम गरौं । प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं’, लेखकले भने ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै साथै कांग्रेस सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं । यो विषय सम्मानीय सभामुखलाई जानकारी गराउँछौं,’ उनले बताए ।

अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ छ । यसका लागि सांसदहरुलाई आवश्यक जानकारी गराइसकिएको उनले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय