यस वर्षको एसइई परीक्षा चैत पहिलो सातादेखि हुने

काठमाडौं, २५ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डरमा भएबमोजिम नै एसइई चैत पहिलो सातादेखि हुने जनाएका हुन् ।
माघको पहिलो सातामा परीक्षाको रुटिन निकाल्ने तयारी रहेको समेत अध्यक्ष शर्माले बताए । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकले यस वर्षको एसइई परीक्षामा कुनै प्रभाव नपार्ने समेत उनले स्पष्ट पारे ।
साथै यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको समेत परीक्षा बोर्डले जनाएको छ । ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार नै हुन्छ’, परिक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ’ ।

