शेखर-गगनको मञ्च एउटै ‘मन’ बेग्लै !

भेलाको निश्कर्ष : सम्मानजनक भागबन्डा नभए राष्ट्रियसभा निर्वाचन बहिस्कार

काठमाडौ,२७मंसिर।पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली विरुद्ध खबरदारी गर्न एउटै मञ्चमा उभिएका नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाको गुट एउटै भएर पनि मन मिल्न भने अझै बाँकी रहेको देखिएको छ।

नेपाली कांग्रेस भित्रको शेखर-गगन पक्षले बुधबार काठमाडौको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना गरेको ‘वृहत’ भेलामा यो तस्वीर छर्लङ्ग देखियो।अझै भेलामा सहभागी भएका दुबै समुहका केही नेताले शेखर र गगनको नामै लिएर ‘तपाईंहरु मिल्नुस,दुई जनामा दरार देखिनु राम्रो होइन’ भन्दै  मिल्न सुझाव दिएका थिए।

संस्थापनइतर समूह मध्य अहिले डा.शेखर र महामन्त्री थापा झन्डै एक बर्षपछी गुटको भेला मार्फत एउटै मंचमा देखिएका हुन् । भेलामा सहभागीको कुरा सुनेपछि शेखरले आफू महामन्त्री गगन थापासँग सहकार्य र छलफलमै रहेको र संगै अगाडी बढिरहेको भन्ने जवाफ दिए। तर,गगन थापाले आफुहरु कतै अल्मलिएको भन्दै के बोल्ने र के गर्ने भन्ने कुरामा स्पष्ट हुन नसकेको स्वीकार गरे। नेता कोइराला र महामन्त्री थापाको कुराले नै स्पष्ट हुन्थ्यो कि उनीहरुको मञ्च एउटै भएपनी ‘मन’ एउटै हुन अझै सकिरहेको छैन।

कांग्रेसमा डा.शेखर र गगन बाहेक डा.शशांक कोइराला, बिमलेन्द्र निधि,कृष्ण सिटौला र प्रकाशमान सिंहका पनि आ-आफ्नै गुट सक्रिय छन् । यी बाहेक महामन्त्री बिश्वप्रकाश शर्मा,केन्द्रिय सदस्य प्रदिप पौडेल,डा.मिनेन्द्र रिजाल,महेश आचार्य लगायत नेताहरू खासै गुटमा छैनन् ।पार्टीको आन्तरिक चुनावमा गुट बनाएपनी अरुबेला ‘बार्गेनिङ’ गर्ने गुट उनीहरु बनाउदैनन।

तर,१४ औं महाधिवेशनदेखि मिलेर गुट बनाएका शेखर-गगन समुहमा पनि एकरुपता देखिन छाडेको छ। खासगरी पार्टी संसदीय दलको नेता चुन्ने बेलामा गगन थापाले आफ्नै गुट भित्रबाट भोट नपाएपछि शेखर-गगन समूहमा अघोषित विवाद थियो। पछि कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियामा त गगनले शेखरको कार्यशैलीको खुलेरै बिरोध गरे। एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई शेखरले बिद्रोह गराएर पछि गठबन्धनमै भित्र्याएको गगनलाइ चित्त परेको छैन।

आजको भेला पनि गगन थापाकै कारण एकदिन सारिएको थियो। हिजो मंगलबार हुने भनिएको भेला गगन उपस्थित नहुने भएपछि आजलाई सारिएको हो। त्यसमा पनि कांग्रेस नेता समेत रहेका गगन थापाका ससुरा एवं नुवाकोट-२ का सांसद अर्जुन नरसिंह केसीको  निवासमा भएको शेखर-गगन-केसी बैठकले यो भेलामा महामन्त्री थापा पक्ष पनि सहभागी हुने सहमति भएको थियो।

भेलामा यो समूहमा रहेका पदाधिकारी सहित केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी थिए।तर,उनीहरुकै गुटमा रहेका केही नेताहरू भने भेलामा सहभागी देखिएनन् ।

त्यसैगरी भेलामा सङ्गै मञ्चमा देखिएर पनि नेता कोइराला र महामन्त्री थापाको मन खुलस्त नभएको स्पस्ट देखिन्थ्यो।भेलामा शेखर आएको झन्डै २७ मिनेट पछि मात्रै गगन थापा आइपुगेका थिए। उनले हलबाहिर कुरेर बसेका पत्रकारले फोटो र केही बोल्नुस भनेर गरेको अनुरोधलाई समेत टार्न खोजे।

भेलापछी उपसभापति समेत रहेका कानुन मन्त्री धनराज गुरुङले आफ्नो समुहमा टुट फुट नरहेको र एजेन्डामा एकमत रहेको प्रतिक्रिया दिए। तर,राष्ट्रिय सभा निर्वाचन र पार्टी भित्रको जिम्मेवारीमा पनि न्यायोचित प्रतिनिधित्व हुनुपर्ने र अवसर पाइसकेकालाई पुनः अवसर दिनुभन्दा नपाएकालाई दिनुपर्नेमा एक भएर जाने कुरा भएको बताए।

यसैगरी भेलामा सहभागी धेरैजसोले पार्टी भित्र सभापति देउवाको कार्यशैलीको बिरोध गर्दै माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सम्मानजनक भागबन्डा नगरिएमा ‘निर्वाचनमा असहयोग र उम्मेदवारी नै नदिने’ सम्मको रणनीतिसहित अघि बढ्न सुझाव दिएका थिए ।

भेलामा डा.शेखर,उपसभापति गुरुङ,महामन्त्री थापा, नेताहरू डा.मिनेन्द्र रिजाल,दिलेन्द्र बडु,चन्द्र भण्डारी,रामनाथ अधिकारी,देवराज चालिसे सहित सरकारमा सहभागी मन्त्री,पार्टी केन्द्रिय सदस्यहरु,सांसदहरु र केही प्रदेश र जिल्लाका सभापति समेत उपस्थित थिए।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय