गगन र बिश्वप्रकाश नआउने भएपछि शेखर पक्षको भेला स्थगित

काठमाडौ,२६मंसिर।नेपाली कांग्रेस भित्र संस्थापन इतर गुट चलाइरहेका डा.शेखर कोइरालाले आज(मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको भेला स्थगित गरेका छन् ।
काठमाडौको बत्तीसपुतली स्थित अनुपम पार्टी प्यालेसमा बोलाइएको भेलामा महामन्त्रीद्वय गगनकुमार थापा र बिश्वप्रकाश शर्मा नजाने भएपछि भेला भोलिको लागि सारिएको छ। पछिल्लो समय शेखर गुटबाट महामन्त्रीद्वय थापा र शर्मा सहित केन्द्रिय सदस्य प्रदिप पौडेल पनि टाढिँदै गएका छन् । यद्यपि १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वमा चुनाव लडेर गगन थापा महामन्त्री बनेका थिए भने बिश्वप्रकाशले प्रकाशमान गुट र प्रदिप पौडेलले संस्थापनको प्यानलबाट महामन्त्री लडेका थिए।
पछि संसदीय दलको नेतामा गगन थापा उम्मेदवार हुँदा भने बिश्वप्रकाश र प्रदिप समेत शेखर गुटमै उभिएका थिए। तर,शेखर-गगन मिलेर संसदीय दलमा उम्मेदवार हुँदा उल्टै भोट घटेपछि यो समुहमा अविश्वासको जग बसेको थियो। त्यतिबेला सभापति शेरबहादुर देउवा संग प्रतिष्पर्धा गर्दा शेखर-गगन समुहमा ३३ भोट थियो तर भोट पाँउदा गगनले २५ मात्रै पाए।
पार्टी भित्र संस्थापन पक्ष अर्थात पार्टी सभापति देउवाको पेलानमा परेको भन्दै आगामी १५ औं महाधिवेशन सम्म गगन,बिश्वप्रकाश र प्रदिप पौडेल समेत डा.शेखरसंग मिलेर जाने भनिए पनि शेखर र गगनको बीचमा दुरि बढ्न थालेपछि यो समुह तितरवितरको अवस्थामा पुगेको देखिन्छ। बरु पछिल्लो समय डा.शेखर कोइराला गगनलाई छाडेर सभापति देउवा संग नजिकिदै गएको टिप्पणी शुरु भएको छ।
आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र त्यस अगाडी वा पछाडी हुने महासमिति बैठकमा समेत देउवा र शेखर मिल्न सक्ने संकेत पाएपछि गगन र बिष्वप्रकाश शेखरसंग टाढिन खोजेको विश्लेषण पनि गरिएको छ। मंसिर २९ गते कांग्रेसको सम्पादन समितिको बैठक बोलाइएको छ। पुस १६ देखि १९ का लागि महासमिति बैठक तय छ। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। यद्यपि महासमिति बैठक फागुनसम्म सार्ने मुडमा सभापति देउवा रहेको बुझिन्छ।

