एमालेको भाग खोसेर गठबन्धनमा ‘अंशबन्डा’ !

काठमाडौं, १७ मंसिर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा एमाले विरुद्ध सत्ता गठबन्धन बिच ‘अंशबन्डा’ गरेरै सबै सिट सुरक्षित गर्ने सहमति भएको छ।

राष्ट्रिय सभाको २० सिटमा सत्तामा रहेका मध्य पनि मुख्य चार दलले मिलेर लड्ने सहमति गरेको र त्यसमध्य अहिले खाली हुने एमालेको सिटमा बेग्लै भागबन्डा हुने भएको छ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा)ले ती सिटमा भागबन्डा अर्थात अंशबण्डा गर्नेछन् ।

आगामी फागुन २० देखि राष्ट्रिय सभाका ५९ मध्य २० सिट रिक्त हुँदैछन्।जसमा नेकपा एमालेका सबैभन्दा धेरै ८ जना छन् । त्यसमध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समेत हुन् ।यसैगरी नेपाली कांग्रेसका ४ जना , माओवादी केन्द्रका ३ जना, एकीकृत समाजवादीका २ जना र जनता समाजवादी पार्टीका १ जनाको पनि ६ बर्षे कार्यकाल सकिदैछ। त्यस्तै एक जना स्वतन्त्र र अर्का एक जना राष्ट्रपति विद्या भण्डारीबाट मनोनित सांसदको कार्यकाल पनि फागुन २० मै समाप्त हुँदैछ। त्यसैका लागि सरकारले माघ ११ मै चुनाव गर्ने भएको हो।

रिक्त हुने सिट मध्य अहिले गठबन्धनका दलबाट जति रिक्त हुन्छन् तिनको त्यै बराबर उम्मेदवार हुने तर एमालेबाट रिक्त ८ सिटमा भने छुट्टै भागबन्डा हुने गठबन्धनका एक नेताले जानकारी दिए।

राष्ट्रपतिबाट मनोनित पुर्व मन्त्री समेत रहेकी एमालेकी विमला पौड्याल हुन् भने स्वतन्त्र भनिएका डा. खिमलाल देवकोटा हुन् । यद्यपि देवकोटा नेकपा एकीकृत समाजवादी निकट हुन् । उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई कलम चिन्ह लिएर स्वतन्त्र उठेरै हराएका थिए। त्यसमा गठबन्धनका उम्मेदवार थिएनन् ।

एमालेबाट रिक्त हुने ८ सिट मध्य कांग्रेसले ३ सिट पाउने देखिन्छ।उसको दाबी भने ४ सिटमा छ। माओवादीले २ सिट,एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउनेगरी भागबन्डा गर्न लागिएको बुझिएको छ। स्रोतका अनुसार जसपाले एमाले संग मिलेर सरकार ढाल्न खोजेको भन्ने कुरा प्रमाणीत भएमा त्यो सिट कांग्रेसले पाउनेछ। तर गठबन्धनमै रहेका जनमत पार्टी,लोसपा र राष्ट्रिय जनमोर्चालाई भने नदिने भनिएको छ।

राष्ट्रिय सभाको ६ बर्षे कार्यकाल सकिन लागेका २० जनामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई र राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी विमला राई पौड्यालसमेतको ६ वर्षे कार्यकाल सकिँदैछ।

यस्तै, कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन्।

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको पनि ६ वर्षको अवधि सकिएको छ।एकीकृत समाजवादीबाट भौतिक राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्माको पनि पदावधि सकिँदैछ।जनता समाजवादी पार्टीबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवको कार्यकाल पनि फागुन २० मै सकिनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...