एक खेल अगावै भारतलाई टी-२० श्रृंखला

काठमाडौं, १५ मंसिर । भारतले अस्ट्रेलियासँगो टी-२० श्रृंखला एक खेल अगावै जितेको छ । शुक्रबार भएको चौथो खेलमा २० रनको जीत निकाल्दै भारतले श्रृंखला आफ्नो पोल्टामा पारेको हो ।
भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया पूरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो । म्याथिउ वेड ३६ रनमा अविजित रहे भने ट्राभिस हेडले ३१ तथा म्याट शर्टले २२ रन बनाए ।
भारतका लागि अक्षर पटेलले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए । दीपक चहरले ४ ओभरमा ४४ रन दिएर २ विकेट लिए । रवि विश्नोई र आवेश खानले १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । भारतका लागि रिंकु सिंहले २९ बलमा ४६ तथा जितेश शर्माले १९ बलमा ३५ रन बनाए । यशश्वी जैसवालले ३७ तथा ऋतुराज गाइक्वाडले ३२ रन बनाए ।
अस्ट्रेलियाका लागि बेन डार्सियसले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । त्यस्तै जेसन बेहरनडर्फले ४ ओभरमा ३२ रन दिएर २ विकेट लिए भने तनभिर सांघाले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए। आरोन हार्डीले १ विकेट लिए ।
योसँगै पाँच खेलको श्रृंखला ३-१ को अवस्थामा पुगेको हो । अब अन्तिम खेल आइतबार बेंगलोरमा हुने छ ।

