मंसिर १४ देखि ‘मध्यपहाडी विशेष अभियान’ गर्ने एमालेको निर्णय

काठमाडौं,२२कार्तिक।नेकपा एमालेले आगामी मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान गर्ने भएको छ ।
बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको सरुवात गर्ने निर्णय गरेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारिएको हो। अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको पनि उनले जानकारी दिए। अभियानको सुरूवात बैतडीको झुलाघाटमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने कार्यक्रम तय भएको छ।
पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मूख्य उदेश्य रहेको भन्दै ज्ञवालीले अभियानले सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने जिकिर गरे।‘अहिले निरासाको खेती गरिएको छ, परिवर्तनको विपक्षमा उभ्याउने कोशिस भइरहेको छ । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी ७५औं वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्यौं । यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ । परिवर्तनका लागि लडेकाहरू हामी यहीँ जनताको साथमा छौं भन्ने सन्देश हामीले दिनेछौं’, ज्ञवालीले भने ।
ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने छ । मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक डाकिएको छ ।
एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बनेका र प्रदेश अध्यक्षमा निर्वाचित भएका ६ केन्द्रीय सदस्यको पद रिक्त भएको समेत जनाएको छ। गुलावजंग शाह, कैलाश ढुङ्गेल, हरि रिजाल मायानाथ अधिकारी, कृष्ण प्रसाद दाहाल रहेका छन् ।

