विश्वकप क्रिकेटमा आज दुई महत्वपूर्ण खेल हुँदै

काठमाडौं, १८ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत शनिबार दुई महत्वपूर्ण खेलहरु हुँदै छन् । आज पाकिस्तान र न्युजिल्यान्ड तथा अस्ट्रेलिया र इंग्ल्यान्डबीच खेल हुँदै छ ।
बैंगलोरस्थित एम चिनास्वामी रङ्गशालामा विहान पौने ११ बजेदेखि पाकिस्तान र न्युजिल्यान्डबीच खेल हुने छ । सेमिफाइनलमा स्थानम बनाउनका लागि दुवै टोलीका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ ।
हाल न्युजिल्यान्ड ७ खेलमा ८ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै ७ खेलमा ६ अंकसहित पाकिस्तान अंकतालिकाको छैटौं स्थानमा रहेको छ । आजको खेल जितेमा पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै रहने छ ।
त्यस्तै दिउँसो सवा २ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा अस्ट्रेलिया र इंग्ल्यान्डबिच खेल हुने छ । इंग्ल्यान्ड सेमिफाइनल दौडबाट लगभग बाहिरिने पक्कापक्की छ ।आज हार व्यहोरेको खण्डमा इंग्ल्यान्ड बाहिरिने छ भने अस्ट्रेलियाको सेमिफाइनल सम्भावना थप बलियो बन्ने छ ।
हाल अस्ट्रेलिया ६ खेलमा ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । त्यस्तै ६ खेलमा २ अंक मात्र जोडेको इंग्ल्यान्ड अंकतालिकाको पुछारमा रहेको छ ।

