सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल यसकारण छ महत्वपूर्ण
प्रतिक भट्ट
काठमाडौं, १५ कात्तिक । आइसिसी टी२० विश्वकप एसिया फाइनल्स अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दै छ । बिहिबार त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि खेल हुने छ ।
दुवै टोली यस खेलभन्दा अगाडि नै सेमिफाइनलमा पुगिसकेको भएपनि यस खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । नेपालले यस खेलमा ओमानलाई हराएमा मात्र त्रिवि मैदानमा सेमिफाइनल खेल्न पाउने छ ।
आइसिसीले निर्धारण गरेको खेल तालिका अनुसार समूह ए को विजेता र समूह बी को उपविजेताबीचको सेमिफाइनल खेल त्रिवि मैदानमा हुने छ भने समूह बी को विजेता र समूह ए को उपविजेताबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुने छ । त्यसकारण नेपाल समूह विजेता भए मात्र त्रिवि मैदानमा सेमिफाइनल खेल्ने छ । त्रिविमा खेल भएमा दर्शकलाई पनि सहज हुनेछ ।
अर्कोतर्फ सेमिफाइनलमा प्रतिस्पर्धीको टुङ्गो पनि यसै खेलको नतिजाले निर्धारण गर्ने छ । नेपाल समुह विजेता भएर उता युएईले हङकङलाई हराएमा नेपालले हङकङ वा कुवेत र बहराइनमध्येको विजेतासँग सेमिफाइनल खेल्न सक्ने छ ।
त्यस्तै नेपाल ओमानसँग पराजित भएर उता युएई विजयी भएमा नेपाल र युएई मुलपानीमा सेमिफाइनल खेल्ने छ । युएई तुलनात्मक रुपमा नेपालका लागि बलियो प्रतिद्वन्दी हो । अघिल्लोपटक नेपाल युएईसँग नै सेमिफाइनलमा पराजित भएर विश्वकप खेल्नबाट वञ्चित भएको थियो ।
यद्यपि समूह बी मा चारवटै टोलीको सेमिफाइनल सम्भावना कायमै रहेका कारणले समूह बी का सबै खेल नसकिएसम्म सेमिफाइनलमा कुन टोली कोसँग खेल्ने छ भन्नेबारे यकिन भन्न नसकिने अवस्था छ । नेपाल जुनसुकै टोली आएपनि उच्च मनोबलका साथ खेल जितेर विश्वकपमा छनौट हुने लक्ष्यका साथ अघि बढिरहेको छ ।

