विश्‍वकपमा इंग्ल्यान्डको अर्को हार, श्रीलंकासँग पराजित भएपछि सेमिमा पुग्‍न कठिन

काठमाडौं, ९ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकपमा इंग्ल्यान्डले अर्को हार व्यहोरेको छ । बिहिबार भएको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई ८ विकेटले हराएको हो ।

इंग्ल्यान्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले २५.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । श्रीलंकाका पथुम निसान्का ७७ रन र सदीरा समराविक्रमा ६५ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि दुवै विकेट डेभिड विलीले लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ३३.२ ओभरमा १५६ रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने जोनी बेयरस्टोले ३० रन बनाए । त्यस्तै डेविड मलानले २८ रन बनाए ।

श्रीलंकाका लागि लहिरु कुमाराले ७ ओभरमा ३५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै कसुन रजिथाले ७ ओभरमा ३६ रन दिएर २ विकेट लिए । त्यस्तै एन्जेलो म्याथ्युजले ५ ओभरमा १४ रन दिएर २ विकेट लिए । महिश थिक्सानाले १ विकेट लिए ।

योसँगै ५ खेलमा ४ अंक जोडेको श्रीलंका अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । ५ खेलमा चौथो हार व्यहोरेको इंग्ल्यान्ड केवल २ अंकसहित पुछारबाट दोस्रोमा छ । यस हारसँगै इंग्ल्यान्डको सेमिफाइनल यात्रा थप कठिन बनेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय