विश्वकपमा दक्षिण अफ्रिकाको अर्को फराकिलो जीत

काठमाडौं, ७ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत मङ्गलबार भएको खेलमा दक्षिण अफ्रिकाले जीत हासिल गरेको छ । दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको ३८३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश २० बल अगावै २३३ रनमा समेटियो । बङ्गलादेशका लागि महमुदुल्लाह बाहेक अन्य ब्याटरले योगदान दिनै सकेनन् । बङ्गलादेशले सुरुवात देखि निरन्तर विकेट गुमाइरहेको थियो । महमुदुल्लाह मात्र एकतर्फबाट रन बनाउँदै लज्जास्पद हारबाट टोलीलाई जोगाए । उनी १११ रनमा आउट भए ।
दक्षिण अफ्रिकाकाम लागि जेराल्ड कोट्जीले १० ओभरमा ६२ रन दिएर ३ विकेट लिए । कगिसो रबाडाले १० ओभरमा ४२ रन दिएर २ विकेट लिए । मार्को यान्सेनले ८ ओभरमा ३९ रन दिएर २ विकेट लिए । लिजाड विलियम्सले ८.४ ओभरमा ५६ रन दिएर २ विकेट लिए । केशव महाराजले १० ओभरमा ३२ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८२ रन बनाउँदै ३८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ओपनर क्विन्टन डिककले १७४ रनको उत्कृष्ट पारी खेले । त्यस्तै हेनरिच क्लासेनले ९० तथा एइडेन मार्क्रमले ६० रन बनाए । डेभिड मिलर १५ बलमा ३४ रनमा अविजित रहे ।
बङ्गलादेशका हसन महमुदले २ विकेट लिँदा कप्तान शाकिब अल हसन, मेहदी हसन मिराज र शोरिफुल इस्लामले १-१ विकेट लिए ।

