संसदमा सन्तोष चालिसेको उपस्थिति र डा.मिनेन्द्रको त्यो माइक…

प्रतिक भट्ट

नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री डा. मिनेन्द्र रिजाल यसपटक संघीय संसदमा छैनन् । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको चुनावी गठबन्धनमा भागबन्डा मिलाउदा डा.मिनेन्द्रले मोरङबाट टिकट नै पाएनन् । उनको दल नेपाली कांग्रेसले मोरङमा ४ सिट पाउँदा पनि डा.मिनेन्द्र परेनन् । राजनीतिमा ‘कांग्रेस भित्रको राजनीति’ ले गर्दा सुजाता कोइरालाले टिकट पाइन् तर जित्न सकिनन् ।

उनै डा.मिनेन्द्रले टिकट नपाएपनी चुनावी अभियानमा देशभर खटे र धेरै चुनावी कार्यक्रमलाई सम्बोधन गरे। चुनावी अभियानकै क्रममा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर-३ को चुनावी कमान्डर रहेका कांग्रेसका युवा नेता हरिबोल भण्डारीले डा.मिनेन्द्रलाई एउटा बुद्धिजीवी र पेशाकर्मीको जमघटमा प्रमुख बक्ताको रुपमा निम्त्याए।

हरिबोल भण्डारीले जमघट गराएको त्यो भेलामा डा.मिनेन्द्र हातमा माइक बोकेर स्टेजमा देखिए । त्यसैबेला भण्डारीले जब मिनेन्द्रलाई बोल्न आग्रह गरे अनि काठमाडौ-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसेको हातमा डा.मिनेन्द्रले माइक थमाइदिए । उनै चालिसे शानदार जितका साथ अहिले प्रतिनिधि सभामा उपस्थित छन् । चालिसे संघीय संसदको शक्तिशाली मध्यकै  अर्थ समिति सभापति समेत चुनिए ।

अब चर्चा गरौं डा.मिनेन्द्रको त्यो माइकको ।  डा.मिनेन्द्रले त्यसैबेला भनेका थिए ‘यसपटक म संघीय संसदमा उपस्थित हुनेछैन। त्यसैले यो माइक सन्तोषजीले लिएर संसदको रोष्ट्रमबाट सबै नेपालीको समस्याको पोको खोल्नुहुनेछ । जनताको हरेक समस्यामा कांग्रेस साथमा छ भन्ने उद्घोष र सहि सत्य उजागर यहि माइकबाट हुनेछ।’

डा.मिनेन्द्रले त्यसो भनिरहदा नेपाली कांग्रेसका नेताकार्यकर्ताले खुशीसंगै ताली बजाएर जसरी पनि सन्तोषलाई जिताउने र त्यो माइक संसदमा पुर्‍याउने अठोट गरेका थिए। आखिर चुनावी परिणाम पनि त्यस्तै भैदियो। सन्तोषले चुनाव जिते र डा.मिनेन्द्रको त्यो माइक संसद पुग्यो।

कार्यक्रममा भनिए जस्तै संसदमा त्यो माइकको आवाज बुलन्द हुँदै अगाडी बढेको छ। सन्तोषले साच्चिकै जनताको समस्याको ‘पोको’ संघीय संसदमा घन्काउन थालेका छन् । उनले शिवपुरी निकुञ्जका कारण गाउँ जाने स्थानीयलाई परेको समस्या,गुहेश्वरीदेखी तिलगंगा निस्कने बाटो, बागमती सफाइ अभियान,सडक र फोहोर ब्यबस्थापन जस्ता बिषय संगै स्वास्थ र शिक्षाको कुरा समेत संसदमा उठाइसकेका छन् ।

सन्तोषले प्रतिनिधि सभामा ११ पटक राखेको धारणा सबैभन्दा महत्त्वपूर्ण र जनताको पक्षमा देखिएको छ। उनी संसदमा बोल्दा प्रायः सबै दलका नेताको ध्यान खिच्न सफल भएको देखिन्छन्
चालिसेले संघीय संसदमा उठाएको पहिलो महत्त्वपूर्ण कुरा मध्य सुन्दरीजलबाट ओख्रेनी लगायत गाउँमा जाने स्थानीयलाई शिवपुरी निकुञ्ज भित्र ढाट राखेर पैसा लिने कुराको ध्यानाकर्षण हो। जुन स्थानीय जनतासंग प्रत्येक्ष जोडिएको र स्थानीयले बर्षौदेखी दु:ख पाएको बिषय भएकोले त्यसलाई सरकार र सम्बन्धित निकायले  तुरुन्तै ध्यान दिएको देखियो।

त्यसैगरी पुर्वी क्षेत्रको ट्राफिक जाम कम गर्न गुहेश्वरीदेखि तिलगंगा सम्मको फास्ट ट्र्याक निर्माणको कुरा उनले उठाएका थिए। उनका अनुसार त्यहाँ  जम्मा २ सय मिटर बाटो खोल्दा तिलगङ्ग जोडिन सक्छ।जसले मित्रपार्क,चाबहिल र गौशालामा हुने ट्राफिक जाम हट्न सक्नेछ।  एयरपोर्टको पश्चिम तर्फबाट तिलगङ्गा निस्कने बाटोलाइ यदी सम्पदा क्षेत्र भित्र पर्ने भनेर निर्माण गर्न समस्या भए सुरुङ मार्गको रुपमा समेत प्रयोग गर्न सकिने बिकल्प समेत सन्तोषले दिए।

यसैगरी नेपाल ट्रस्टको पर्खाल हटाएर बागमती पीडितलाई मुआब्जा दिने र ट्र्याक खोल्ने कुरा पनि उनले संसदमा उठाए । गोकर्णको जङ्गल क्षेत्र भित्र पर्ने  जग्गामा ट्र्याक खोलेर त्यहाँ बर्षौदेखि रहेको स्थानीय जनताको समस्या हलगर्न उनले ध्यानाकर्षण गराए।

यस्तै बागमती जलाधार र नदी सरसफाइको बारेमा पनि संसदमा आवाज उठ्यो। चालिसेले धाप ड्याम निर्माण पछि त्यहाको पानीलाई हिउँदमा बागमतीमा बगाउँदा नदि सफा हुने र बार्है महिना स्वस्थ र स्वच्छ बागमती हुने उनको तर्क थियो।जुन कुरा उनले आफ्नो चुनावी प्रतिबद्धतामा समेत राखेका थिए।

काठमाडौका जनताको समस्याको रुपमा रहेको खानेपानीमा लेदो आउने बिषयमा पनि सन्तोषले ध्यानाकर्षण गराए। उनले स्वच्छ पिउन योग्य पानी वितरण गर्न सकिने उपाय सहित सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन सफल भएको बताएका छन्।

पछिल्लो समय महँगी बढेर नेपालीको ढाड सेकेको बिषयमा पनि सन्तोषले संसदमा कुरा उठाए। दसैंको समयमा जनताले २ किलो चिनिको लागि ४ घन्टा लाइन बस्नुपर्ने बाध्यताको बिषयलाइ उनले चर्को गरि उठाए। चार सय रुपैयाँको जिरा १२०० पुग्दा पनि सरकार कानमा तेल हालेर बस्न मिल्छ ? भन्दै सन्तोषले आफ्नो निर्वाचन क्षेत्र मात्रै होइन अन्य पीडितको समेत आवाज उठाए।

संघीय संसदमा जनताको समस्यालाई टड्कारो रुपमा बिषयगत हिसाबले राख्ने केही पुराना सांसद अहिलेको संसदमा छैनन् । डा.बाबुराम भट्टराई,डा.मिनेन्द्र रिजाल,नरहरी आचार्य, स्व.प्रदिप गिरी,स्व.सुवासचन्द्र नेम्वाङ,अमिक शेरचन जस्ता नेता संघीय संसदमा नभएको कुराको अभाव बिश्वप्रकास शर्मा,प्रदिप पौडेल,सन्तोष चालिसे,माधव सापकोटा लगायतले पूरा गर्न सक्नेछन् ।

जुन कुरामा डा.मिनेन्द्र रिजालले पहिले नै सचेततापुर्वक आफ्नो अभावलाई सन्तोष मार्फत माइक पठाएर पूरा गर्ने प्रयास गरेका थिए। डा.मिनेन्द्रको आवाजलाई त्यो माइक मार्फत सन्तोषले सायद बाकी ४ बर्ष प्रतिनिधि सभामा घन्काइरहने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय