नेपाल वायुसेवा निगमले सिड्नी, कोलम्बो र सिओल उडान गर्ने

काठमाडौं, १९ असोज । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए।

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चारवटा संस्थाबीच बिहिबार समझदारीपत्र (एमओयु)हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नीसहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गरे।

‘निगमले सिड्नीको उडानका लागि धेरै काम गरिसकेका छौँ, तर केही सिन्डिकेटधारी समूह निगमको जहाज सिड्नी जान नदिन प्रयास गरिरहेका छन्, विभिन्न दबाबलाई चिर्दै हामी लक्ष्यमा पुग्न सफल हुनेछौँ’, उनले भने।

अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान सङ्ख्या बढाएर लैजाने प्रयासमा रहेको बताए। उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजन रहेको उनले उल्लेख गरे।

नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाँचो औँल्याए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय