नेपाली कांग्रेसको पुरानो सदस्यता गुल्मीका मथुरासँग भेटियो

२००७ साल चैत २६ को सदस्यता पार्टी मुख्यालयमा आइपुग्यो

काठमाडाैं, १६ असोज । उनको उमेर ९० बर्ष । नेपाली कांग्रेसको उमेर ७६ वर्ष । यो दुई उमेरको बिचमा १४ बर्षको मात्रै फरक छ । २००४ सालमा स्थापना भएको नेपाली कांग्रेसको सदस्यता लिदा गुल्मी रेसुङ्गा नगरपालिका-१ निवासी मथुराप्रसाद श्रेष्ठको उमेर जम्मा १८ वर्ष थियो।

उनै मथुराले २००७ साल चैत्र २६ गते प्राप्त गरेको नेपाली कांग्रेसको सदस्यताको प्रमाणपत्र रेकर्डका लागि पार्टी मुख्यालयमा बुझाएका छन् । १९९० साल बैशाख १२ गते जन्मीएका श्रेष्ठले १८ वर्षको उमेरमा लिएको सदस्यता नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेललाई पार्टी कार्यालय सानेपामै पुगेर बुझाएका हुन् । यो अहिलेसम्म प्राप्त सदस्यता मध्य सबैभन्दा पुरानो सदस्यता हो।

तर, नेपाली कांग्रेसको रेकर्डमा भने यसअघि स्याङ्जाका पुराना नेता चोल प्रसाद शर्माको सदस्यता सबैभन्दा पुरानो भनिएको छ। श्रेष्ठको सदस्यता प्राप्त भएसंगै महामन्त्री गगन थापाले तयार पारेको ऐतिहासिक दस्ताबेज समेत सच्याउनुपर्ने भएको छ।

महामन्त्री थापाले तयार पारेको दस्तावेजमा चोलप्रसादको सदस्यता अहिलेसम्मकै पुरानो सदस्यता भनिएको छ। यद्यपि चोलप्रसादको सदस्यता २००९ सालको हो। अब मथुराले २००७ सालको सदस्यता देखाएपछि यो दस्तावेज सच्याउन आवश्यक देखिएको हो।


९० वर्षीय मथुरा प्रसाद श्रेष्ठले पार्टीलाई बुझाएको सदस्यताले त्यो सदस्यतालाई विस्थापित गरिदिएको कांग्रेस नेताहरुले बताएका छन् ।तर,अझै त्यो भन्दा पुरानो सदस्यता कसैसँग भएमा उपलब्ध गराउन भनिएको छ। पार्टी २००४ सालमा स्थापना भएकोले पक्कै पनि त्यो भन्दा पुरानो सदस्यता भेटिन सक्छ। यद्यपि अर्को कसैको सदस्यता नआउँदासम्म श्रेष्ठको सदस्यताले जेष्ठताको मान्यता पाउने छ । श्रेष्ठको सदस्यता ग्रहण गर्दै मुख्य सचिव पाैडेलले ऐतिहासिक सदस्यता पार्टीको दस्तावेजमा समावेश  गर्ने जनाए ।

सदस्यतामा सभापति मातृका प्रसाद कोइराला र प्रधानमन्त्री महेन्द्र विक्रम शाहले हस्‍ताक्षर गरेका छन् । हाल महामन्त्री भनिने पदलाई त्यसबेला प्रधानमन्त्री भनिने गरेको पार्टी नेताहरू बताउँछन् । पुरानो सदस्यता  बुझाउने ९० वर्षीय श्रेष्ठका कान्छा छोरा भुवनप्रसाद श्रेष्ठ हाल लुम्बिनी प्रदेशको उपसभापति छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय