यस्तो छ नेपालसँग एसियाडमा प्रतिस्पर्धा गर्ने भारतीय क्रिकेट टोली

प्रतिक भट्ट

काठमाडौं, १५ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्‍वाटरफाइनलमा नेपालले मङ्गलबार विहान बलियो टोली भारतसँग खेल्दै छ । सोमबार भएङ्को ड्र बाट नेपालले सेमिफाइनल प्रवेशका लागि भारत प्रतिस्पर्धीको रुपमा पाएको हो ।

भारतको सिनियर टोली अब केही दिनमा सुरु हुने एकदिवसीय विश्‍वकपका कारण उपलब्ध नभएकाले भारतले दोस्रो टोली पठाएको छ । भारतको उक्त युवा टोली पनि बलियो छ । अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका र चर्चित आइपिएलमा उच्च प्रदर्शन गरिसकेका खेलाडी छन् ।

कस्तो छ त भोलि नेपालसँग खेल्ने भारतीय टोली ?

ब्याटरहरु

भारतको एसियाड क्रिकेट टोलीका कप्तान रुतुराज गायक्‍वाड छन् । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने आइपिएलमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । आइपिएलमा चेन्‍नई सुपर किङ्सबाट खेल्ने उनले टी२० करियरमा ३ शतकसहित ३५०० भन्दा माथि रन हानेका छन् ।

त्यस्तै आक्रामक शैलीका ब्याटर यशश्‍वी जैसवाल पनि टोलीमा छन् । उनले पनि भारतको राष्ट्रिय टोलीबाट तीनवटै फर्म्याटमा खेलिसकेका छन् भने आइपिएलमा राजस्थान रोयल्सबाट खेल्ने गर्छन् । उनले टी२० करियरमा १ शतकसहित कुल १७१० रन बनाएका छन् ।

त्यसैगरी टोलीमा विकेटकिपर ब्याटरका रुपमा प्रभसिमरन सिंह र जितेश शर्मा छन् । आक्रामक शैलीका दुवैले आइपिएलमा पञ्‍जाब किङ्सका लागि खेल्छन् । जितेश फिनिसिङमा उत्कृष्ट मानिन्छन् । सिंहले २ शतकसहित टी२०मा १५०० रन बनाएका छन् भने जितेशले १ शतकसहित २००० भन्दा बढी रन बनाएका छन् ।

त्यस्तै भारतको टोलीमा अनुभवी खेलाडी राहुल त्रिपाठी र रिंकु सिंह पनि समावेश छन् । आइपिएलमा विभिन्‍न टोलीबाट खेलिसकेका त्रिपाठीले टी२० मा १८ अर्धशतकसहित ३१७१ रन बनाएका छन् । त्यस्तै कोलकाताबाट खेल्ने रिंकु सिंह फिनिसरका रुपमा चर्चित छन् । उनले यस सिजनको आइपिएलमा ५ बलमा २८ रन चाहिएको अवस्थामा ५ छक्का प्रहार गर्दै टोलीलाई जीत दिलाएका थिए ।

अल राउन्डरहरु

भारतीय टोलीमा अनुभवी अलराउन्डरहरु पनि छन् । टोलीमा आकाश दीप, शिवम दुबे, शाहबाज अहमद, तिलक वर्मा र वासिङटन सुन्दर अलराउन्डरका रुपमा छन् । सबैले आइपिएल खेलिसकेका छन् भने आकाशबाहेक अन्यले राष्ट्रिय टोलीका लागि खेलिसकेका छन् । आकाशले पेस र अन्यले स्पिन बलिङबाट विकेट निकाल्दै ब्याटबाट केही आक्रामक पारीहरु पनि खेल्न सक्छन् ।

टी२० मा आकाशले ३९ विकेट लिएका छन् भने दुबेले करिब २००० रनसहित ४१ विकेट पनि लिएका छन् । त्यसैगरी वासिङटन सुन्दरले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमै २९ विकेट लिँदा अन्य टी२०मा ९३ विकेट लिएका छन् । तिलक वर्माले पनि फिनिसिङमा राम्रो योगदान गर्न सक्छन् ।

बलरहरु

भारतको एसियाड क्रिकेट टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका चार बलरहरु छन् । अर्शदीप सिंह, रवि विश्‍नोई, मुकेश कुमार र आवेश खान बलरका रुपमा छन् । अर्शदीपले बाँयाहाते तीव्र गतिको बल फाल्छन् । उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमै ५० विकेट लिइसकेका छन् भने अन्य टी२०मा १२३ विकेट लिएका छन् । आइपिएलमा पञ्‍जाब किङ्सबाट खेल्ने गर्छन् ।

त्यस्तै विश्‍नोईले लेग स्पिन बलिङबाट ब्याटरलाई फसाउन सक्छन् । उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा २० तथा अन्य टी२०मा १०५ विकेट लिएका छन् । उनले आइपिएलमा पञ्‍जाब र लखनउबाट खेलिसकेका छन् ।

आवेश खानले दाँयाहाते तीव्रगतिको बल गर्छन् । उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा १३ विकेट लिँदा अन्य टी२० मा १०६ विकेट लिएका छन् । आइपिएल लखनउबाट खेल्ने गर्छन् । मुकेश कुमारले दिल्लीबाट आइपिएल खेल्छन् ।

यस्तो अवस्थामा भारतलाई हराउन नेपाललाई सहज भने पटक्कै छैन । अघिल्लो महिना एसिया कपमा भारतविरुद्ध पहिलोपटक एकदिवसिय खेलेको नेपालले एक महिनाभित्रै भारतसँग टी२० अन्तर्राष्ट्रियमा खेल्ने मौका पाएको हो ।

यस खेलमा नेपालले जित निकाल्न नसकेको खण्डमा पनि टी२० विश्‍वकप छनौटको अघि एउटा राम्रो अनुभव बटुल्ने अवसर रहेको छ । एकदिवसियमा सोचेको भन्दा राम्रो प्रदशर्न गरेको नेपालले टी२० मा पनि भारतविरद्ध सम्मानजनक प्रदर्शन गर्छ भन्‍ने आशा राख्‍न सकिन्छ ।

भारतको टोली: रुतुराज गायक्‍वाड (कप्तान), यशश्‍वी जैसवाल, रिंकु सिंह, प्रभसिमरन सिंह, जितेश शर्मा, तिलक वर्मा, शिवम दुबे, वासिङटन सुन्दर, राहुल त्रिपाठी, आकाश दीप, शाहबाज अहमद, अर्शदीप सिंह, मुकेश कुमार, रवि विश्‍नोई, आवेश खान

नेपालको टोली: रोहित पौडेल (कप्तान ),कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, करण केसी, प्रतिश जिसी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक यादव

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय