दक्षिण एसियाली फुटबल: उमेर समूहमा पनि भारतकै दबदबा
प्रतिक भट्ट
काठमाडौं, १३ असोज । भारतले लगातार तेस्रोपटक साफ यु-१९ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा पाकिस्तानलाई ३-० गोलअन्तरले हराउँदै भारतले उमेर समूहको प्रतियोगितामा उपाधिको ह्याट्रिक गर्यो ।
भारतको जीतमा मेङ्गलथान किपगेनले दुई गोल गरेका थिए भने एक गोल गोगोसर गोएरीको नाममा रह्यो । किपगेनले दोस्रो हाफको ६४औं र ८४औं मिनेटमा गोल गरेका थिए भने गोएरीले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेका थिए ।
खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सिर्जना गरेपनि सफल हुन सकेका थिएनन् । १२औं मिनेटमा पाकिस्तानका आदिल युनिसले एक्लै लगेर प्रहार गरेको बल भारतीय गोलरक्षकले विफल पारेका थिए । २२औं मिनेटमा खुर्सिद आलमले राम्रो अवसर गुमाए । २५औं मिनेटमा भारतका एबिन्दास युसुदासनले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको सुरुमै भारतले आक्रमण बुन्दा पाएको राम्रो बललाई शाहिल खुर्सिदले जाली चुमाउन सकेनन् । ६४औं मिनेटमा किपगेनले बक्सबाहिर पाएको बललाई सोझै प्रहार गरे र गोल भएपछि भारत अग्रता लिन सफल भयो । पाकिस्तानले गोल फर्काउने प्रयास गरेपनि फिनिसिङमा चुकिरहेको थियो ।

८४औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत सोझै गोल गरे । फ्रिकिक त्यति सशक्त नभएपनि गोलरक्षक झुक्किँदा बल सोझै भित्र छिरेको थियो । इन्जुरी समयको अन्तिम मिनेटमा गोएरीले हेडरमार्फत गोल गर्दै भारतको ३ ० को जीत पक्का गरे ।
योसँगै भारतले दक्षिण एसियाली फुटबलमा उमेर समूहको प्रतियोगितामा पनि आफ्नो दबदबा कायमै राखेको छ । पछिल्लोपटक २०१९ र २०२२ मा भएको साफ यु१९ च्याम्पियनसिप फुटबल पनि भारतले जितेको थियो । नेपालले भने २०१५ र २०१७ मा जितेको छ ।
भारतको सिनियर टोलीले निरन्तर रुपमा उच्च स्तरको प्रदशर्न गर्दै एसियाली फुटबलमै आफुलाई स्थापित गर्ने प्रयत्न गरिरहँदा दक्षिण एसियामा दबदबा कायम गर्दै आएको छ । उमेर समूहको टोलीले पनि सिनियर टोलीकै लय समातिरहेको छ ।
भारतको सिनियर टोलीले सर्वाधिक ९ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । नेपालले भने हालसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । यु १९ टोलीले पनि २०१७ पछि उपाधि जित्न सकेको छैन ।
यसपटक पनि नेपाल भारतसँग नै स्तब्ध बन्दै सेमिफाइनलबाट बाहिरिएको थियो । भारतलाई चूनौति प्रस्तुत गरेको भएपनि नेपाल टाइब्रेकरमा चुकेको थियो । पाकिस्तानले भने उमेर समूहको प्रतियोगितामा पहिलो सहभागतिमा नै फाइनल पुगेर तारिफयोग्य प्रदशर्न गर्न सफल भयो ।

