सभापति देउवा विरुद्ध शेखर समूह आक्रामक

बिश्वप्रकाश र प्रदिप पौडेललाई समेत गुटको बैठकमा निम्तो


काठमाडौ,२ असोज।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले औपचारिक रुपमा गुटको बैठक गर्दै सभापति शेरबहादुर देउवा विरुद्ध धावा बोल्ने आँट गरेका छन् ।

पार्टीको असोज ४ देखि हुने केन्द्रिय समिति बैठक अगाडी नै आफ्ना गुटका योजना बनाउन डा.कोइरालाले आफू पक्षधरको औपचारिक बैठक बोलाएका छन् ।

डा.कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज मंगलवार दिउँसो २ बजेका लागि बैठक बोलाइएको शेखर पक्षीय एक नेताले परेवान्युजलाई बताए । बैठकमा कोइराला पक्षका बाहेक १४ औं महाधिवेशनमा देउवा,प्रकाशमान सिंह र कृष्ण सिटौला पक्षबाट चुनावी प्रतिस्पर्धा गरेकालाई समेत बोलाइएको छ।

स्रोतका अनुसार आजको  बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ । १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् ।

१४ औं महाधिवेशनमा शर्माले प्रकाशमान सिंहको टिमबाट महामन्त्री जितेका हुन् भने पौडेल देउवा समुहबाट प्रत्याशी बनेर पराजित भएका हुन् ।

यदि महामन्त्री शर्मा बैठकमा गए भने डा.कोइरालाको पक्षमा दुबै महामन्त्री हुनेछन् । अर्का महामन्त्री गगन थापा डा.कोइराला पक्षमा खुलेरै लागेका छन् । त्यसैगरी युवा नेता प्रदिप पौडेल पनि जाने नजाने टुंगो छैन। तर सहमहामन्त्री बद्री पान्डे र जीवन परियार समेत कोइरालाको सारथि छन्। 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय