भारतलाई आठौंपटक एसिया कप क्रिकेटको उपाधि

काठमाडौं, ३१ भदौ । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको एकपक्षीय फाइनल खेलमा श्रीलंकालाई हराउँदै भारतले आठौंपटक उपाधि जितेको हो ।

श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले सातौं ओभरको पहिलो बलमा पूरा गर्दै उपाधि हात पार्न सफल भयो । भारतका लागि शुभमन गिल २७ र इशान किशन २३ रनमा अविजित रहे ।

कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ ओभरमा ५० रनमा अलआउट भएको थियो । श्रीलंकाका कुशल मेन्डिस र दुशान हेमन्था बाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । भारतका मोहम्मद सिराजले घातक बलिङ गर्दै श्रीलंकाको ब्याटिङ ध्वस्त पारे । उनले दोस्रो ओभरमै चार विकेट हात पारेका थिए ।

श्रीलंकाले १ रनमा पहिलो विकेट गुमाउँदा ८ रनमा दोस्रो, तेस्रो र चौथो विकेट गुमाएको थियो । त्यसपछि १२ रनमा पाँचौं र छैँटौं विकेट गुमाएको श्रीलंका केही सम्हालिन प्रयास गरेको भएपनि ३३ रनमा सातौं, ४० रनमा आठौं र ५० रनमा अन्तिम दुई विकेट गुमाएर अलआउट हुन पुग्यो ।

सिराजले ७ ओभरमा २१ रन दिएर ६ विकेट लिए। हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय