तनहुँको मादीसेती नदी किनारमा महिला मृत फेला

तनहुँ, २ साउन । तनहुँमा एक महिला मृत भेटिएकी छन् । व्यास नगरपालिका–१३ बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

नामथर, वतन केही पनि नखुलेको अन्दाजी ४० देखि ४५ वर्षकी महिलाको बेवारिसे शव नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो । प्रहरीका अनुसार महिलाको शरीरका विभिन्‍न भाग सडिसकेका छन् ।

गहुँगोरी वर्णको मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडिसकेको, टाउकोको बाहिरी छाला गलिसकेकाले कपालको भाग नभएको अवस्थामा महिलाको शव भेटिएको छ ।

त्यसैगरी शरीरको भाग फुलेको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टासहितको सुनजस्तो देखिने पहेलो रङको मुन्द्रा एक थान, नाकमा सोही प्रकारको फुली एक थान र घाँटीमा रातो गेडीवाला पोते भएको माला र बायाँ हातमा रातो चुरा लगाएको अवस्थामा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय