इमर्जिङ एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित

काठमाडौं, २९ असार । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । पाकिस्तानका लागि तयाब ताहिरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै ओमेर युसुफले ३६ तथा कमरान गुलामले ३१ रन बनाए ।
नेपालका ललित राजवंशीले ८ ५ ओभरमा ५० रन दिएर ३ विकेट लिए । त्यस्तै पवन सर्राफले ५ ओभरमा १५ रन दिएर २ तथा कुशल मल्लले ६ ओभरमा २२ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि नवौं नम्बरमा ब्याटिङ आएका सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनी ३७औं ओभरको अन्तिम बलमा एक रन निकाल्ने धुनमा एज लागेर अन्तिम विकेटका रुपमा आउट भएका थिए ।
नेपालले १० ओभरभित्रै ६ विकेट गुमाउँदा ३९ रन मात्र बनाएको थियो । त्यसपछि ७२-८ को अवस्थाबाट सोमपाल कामीले प्रतिश जिसी र ललित राजवंशीसँग मिलेर इनिङ्स उकासेका थिए । प्रतिशले २६ रन बनाए ।
पाकिस्तानका शाहनवाज दहानीले १० ओभरमा ३८ रन दिएर ५ विकेट लिए भने मोहम्मद वासिम जुनियरले ५१ रन दिएर ४ विकेट लिए । मुबासिर खानले १ विकेट हात पारेका थिए ।
नेपालले अब आफ्नो दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्ने छ ।

