सबै प्रदेशमा वर्षाको सम्भावना, केही ठाउँमा ठुलो पानी पर्ने

काठमाडौं, २८ असार । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
त्यसैगरी राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ । तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

