साउनमा हरिया चुराका कुरा
बन्दना पोखरेल
उजाड जीवन न सुन्दर हुन्छ न डाँडाकाँडा, भरिभराउ सुन्दरता पक्कै पनि डाँडाकाँडामा हरियाली जीवनमा खुशियालीले दिन्छ । हाम्रो नेपालको सन्दर्भमा भन्नु पर्दा हामी त्यसै पनि प्राकृतिक सुन्दरताले धनी छौं त्यो वातावरण होस् या मानिस ।
हाम्रा चाडपर्व हरु हाम्रो संस्कृति अनि हाम्रा जीवन शैली आफैंमा सुन्दर छन् । हामिलाइ के हिउँद के बर्खा खासै फरक पर्दैन हरेक समय हाम्रो सुन्दरता झल्की नै रहन्छ । विशेषत: अब सुरु भइरहेको वर्षा अनि चाडपर्वको माहोल , आहा ! कहिले पनि नसकियोस झैं लाग्छ ।

हरियाली वातावरण हाम्राे जीवनकाे महत्त्वपूर्ण अङ्ग हाे । यसलाइ जोगाउनु अनि विकास गर्नु हाम्रो दायित्व हो । यहाँ मैले उठान गर्न खोजेको विषय पनि आज रुख बिरुवा डाँडाकाँडा बाट मानिस मा सरेको हरियो विकृति हो । धेरैलाइ नराम्रो लाग्ला तर यथार्थ के हो भने आज आएर हामी हरियाली वातावरणमा कम र चिज तथा लगाउने लूगाहरु मा बढी खोज्ने गरेका छौं ।
खासगरी साउन महिना सुरु भएदेखि हाम्रा घर आँगनमा लथालिङ्ग हरिया चुरा र वस्त्रले कब्जा जमाएर यस्तो देखाइन्छ कि हरिया चुराबिना साउन जाँदैन कि झैं गरिन्छ । खासगरी नेपालसँगै भारतमा पनि यो ठूलाे प्रचलन बनिसकेको छ तर धार्मिक तथा वैज्ञानिक दृष्टिकोणबाट कारण खाेज्दा समेत कुनै तार्किक अर्थ भेटिएको देखिँदैन ।
काँचका चुरा लगाउदा हाम्राे शरिर काे रक्तसञ्चार लाई यसले नियन्त्रण गर्छ भन्ने कुरा नकार्न त सकिन्न तर हरियो लगाउन साउन नै कुर्नुपर्छ भन्ने पक्कै हैन। उसो त चुरा पोते सारी हामी नारीहरु काे सिङ्गारमा पर्दछ र हामीले लगाउने नै गरेका छौं यसमा कारण र बहसको कुनै गुन्जायस रहँदैन । तर अहिले आएर हरियाे चुरा धेरै प्रचलनमा आयाे यसकाे खास कारण व्यापारीलाई फाइदा मात्र देखिन्छ र अचम्मको कुरा यो व्यापार हाम्रो देशले गर्दैन किनकि यी चुरा आयात हुने भारतकाे बनारस या हैदराबाद बाट हो ।
हामी नेपाली नारीहरु लाई देखासिकी खुब मन पर्छ तर यसले कहाँ कसरी के मा प्रभाव पारेको हुन्छ मनन गर्नु आजको आवश्यकता हो । हाम्राे आमा, हजुरआमाहरु ले हरिया चुराको चटक बिना नै हामिलाइ यति सुन्दर जीवन जिउन सिकाउनु भयो । हरियाे चुरा लगाई फेसन देखाई गरेकाे पुजा काे के अर्थ हुन्छ र ? साँच्चै धर्म गर्नु नै छ भने चुरा बेचौं अनि जाऊँ साउनले बगाएर घरवारविहीन पिडितहरु को उद्दार र सहयोगमा हात बढाउ तब मात्र धर्म भएको मानिन्छ ।
बेल पत्ता रुखै मुडुलाे पारेर हरिया चुरा सारी लगाएर पुजा गर्नु को अर्थ के? फेसबुक को भित्ता रङ्ग्याउनकै लागि धर्म लाई बदनाम गर्ने गरी विकृति ल्याउनु को के अर्थ ? यसरी भनिरहँदा म पूर्ण खिलाफमा छु र सबै गलत हो भन्ने पनि होइन तर यसरी आवश्यकता भन्दा बढी उम्लिनु पक्कै पनि राम्रो होइन । सुन्दा सामान्य लाग्ला तर प्राकृतिक हरियाली को ख्याल नगरी चुरा मा हरियोपन खोज्नु मुर्खता बाहेक केही होइन ।

