हावाहुरी र असिनाले झापामा अर्बौंको क्षति

विर्तामोड । झापामा फागुनको अन्तिम सातादेखि चैत अन्तिम सातासम्म आएको हावाहुरी र असिनासहितको वर्षाले किसानको खेतबारी उजाड बनाएको छ।
मुख्य खाद्यान्न तथा नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको गम्भीर असर परेको छ।
जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार फागुन अन्तिम सातादेखि चैत तेस्रो सातासम्मको अवधिमा मात्रै कृषि क्षेत्रमा ३ अर्ब १९ करोड २९ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यसमध्ये १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ।
जिल्लाका १५ वटै पालिकामा क्षति पुगे पनि सबैभन्दा ठूलो मार मकैबालीले बेहोरेको छ। हावाहुरीसँगै परेको असिनाले बाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा पुगेको किसानहरूले बताएका छन्।
सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका अग्रस्थानमा रहेको छ। त्यहाँ लगाइएको मकैबालीमध्ये झण्डै ७५ प्रतिशत नष्ट भएको छ। सात वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा व्यापक क्षति पुगेको प्रमुख विष्टले जानकारी दिए।
मकैबालीमा मात्रै २७ करोड २७ लाखभन्दा बढीको क्षति भएको छ भने आंशिक क्षति ७५ करोड ५७ लाखभन्दा बढी पुगेको छ। वडागत विवरणले क्षतिको गम्भीरता झन् स्पष्ट देखाउँछ । बाह्रदशी–२ र ३ मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ भने अन्य वडामा पनि उल्लेख्य क्षति भएको छ।
यसैगरी तरकारी बालीमा पनि असर परेको छ। साना क्षेत्रफल भएपनि विभिन्न वडामा तरकारी नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसान प्रत्यक्ष प्रभावित भएका छन्। बाह्रदशीका अधिकांश वडामा तरकारी बालीमा क्षति पुगेको छ।
असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले फूल लागेको तथा गोडाइको अवस्थामा रहेका बालीमा अत्यधिक नोक्सानी पुगेको हो। स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल सुरु गरिएको छ।

