ओली र लेखकलाई आज अदालत लगिने

काठमाडौं । भदौ २३ को घटनामा अनुसन्धान गर्न भन्दै पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आज अदालत लगिने भएको छ।
ओली अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन् । उनीहरुलाई पक्राउ गरिएको विषयमा गृहमन्त्री सुधन गुरूङले शुक्रबार सर्वोच्च अदालतमा लिखित जबाफ पेस गरेका छन्।
एमाले अध्यक्ष समेत रहेका ओलीले आफूलाई गैरकानुनी पक्राउ गरिएको भन्दै सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा गुरूङले शुक्रबार लिखित जबाफ पेस गरेका हुन्। गृहमन्त्री गुरूङले आफ्नो लिखित जबाफमा जाँचबुझ आयोगको सिफारिस र जाहेरी सम्बन्धमा अनुसन्धानका लागि अधिकारप्राप्त अधिकारीबाट कानुन बमोजिम पक्राउ पुर्जी जारी भएको जबाफ अदालतलाई दिएका छन्।’आयोगले सम्बन्धित सबै पक्षसँग कार्यादेश बमोजिम बुझ्नुपर्ने विषयमा बुझी प्रतिवेदन पेस गरेको विषयमा रिट निवेदकले सेलेक्टिभ प्रसिक्युसन भन्न मिल्दैन,’ गुरूङले भनेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदनलाई प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही अनुरुप निर्णय गरेको राती नै प्रहरी परिचालन गरि भोलिपल्ट बिहानै ओली र लेखक पक्राउ परेका हुन् ।
प्रतिवेदनमा मुलुकी अपराध संहिताको २०७४ को दफा १८१ अनुसार लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र दफा १८२ अनुसार हेल्चेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो।
लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ। ओली र लेखक माथी १० वर्ष कैद माग गरिएको छ।
त्यस्तै, हेल्चेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। जिल्ला अदालतले उनलाई सुरूमा पाँच दिन थुनामा राख्न म्याद दिएकोमा गत बिहीबार थप दुई दिनको म्याद दिएको छ। सो म्याद हिजै शनिबार सकिएको तर, अनुसन्धान नसकिएपछि ओली र लेखकलाई आज (आइतबार) पुन: जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।

