६६ जिल्लाको १ करोड ८२ लाख ३० हजार मतपत्र छापियो

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको र सम्बन्धित जिल्लामा पठाइएको जानकारी दिएको छ। अब ११ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ।

काठमाडौँ उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको जनाइएको छ। अब दुई दिनमा मतपत्र छपाइ सकिने अनुमान गरिएको छ।

छापिएका जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको र केही दिनमा जिल्लामा पुग्नेछ। हालसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ भइसकेको छ। हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ। गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो।

आयोगले कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको पनि जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय