यो असामान्य चुनाव
मनोज कुमार कर्ण
नेपालमा २०८२ भदौ २३ गते जेनजी विद्राेह र भाेलिपल्ट त्यसकाे आडमा भएकाे विध्वंसकाे जगमा साेही भदाै २७ गते निर्मित वर्तमान सुशिला कार्कीकाे सरकारले संसदीय चुनाव आउने २०८२ फाल्गुण २१ गते सम्पन्न गराउने घाेषणा गरिएकाे छ ।
सरकार चुनाव गराउने भनी प्रयासमा लागेकाे देखिन्छ भने केही मान्छे र समूहलाई अझै याे चुनावलाई राेकिएलान् भन्ने लागिरहेकाे छ । चुनाव राेक्न चाह्ने समूहहरू सानै भएपनि उनीहरूकाे साेचमा देश बचाउन कथितरूपमा अब राजाल्याउने हाे, जुन असम्भव मानिन्छ ।
अर्काे जेनजीकै समूहले उग्रभई चुनाव नै नगराएर एकैचाेटी धेरै माग पूरा गराइकन अनि बल्ल चुनावमा जाने रहेकाे छ, याेपनि असम्भव मानिन्छ किनकि यसाे गर्नु विधिविधानकाे उल्टाे हुने मानिन्छ । यी यावत् कुराका बावजूदपनि के कुरा केही छन् भने यस चुनावकाे पूर्वसंन्ध्यामा देशकै एकमात्र पूर्ण मानककाे लाेकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा असामान्यरूपमा नेतृत्व हस्तान्तरण भएकाेले गर्दा निवर्तमान सभापतिलगायत पूर्व पदाधिकारीहरू नै कतिपय हेभीवेइटले टिकट नपाएर चुनावी मैदानबाट बाहिर छन् ।
वामपन्थी दुई ठूला दलहरू नेकपा एमाले र पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वकाे नेकपा (पूर्व माओवादी र नेकपा एस समाहित)मा महाधिवेशन गरिएका अथवा त्यसकाे चरणमा रहेकाे भनिएपनि मुख्य नेतृत्व भने उनै हुन् क्रमश: एमालेमा केपी ओली र नेकपामा संयाेजक प्रचण्ड । नयाँहरूमा कुलमान घिसिङकाे उज्यालाे नेपाल पार्टी, हर्क राईकाे श्रम संघर्ष पार्टी, प्रगतीशिल लाेकतान्त्रिक पार्टीलगायत रहेका छन् ।
उता २०७९ काे चुनावताका निर्मित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नामक रवि लामिछाने नेतृत्वकाे पार्टीले भने काठमाडाैंका पूर्व मेयर स्वतन्त्र भनिएका बालेन्द्र साह, सामाजीक अभियन्ता आशिका तामाङ्ग (जर्मन नागरिकता लिएकाे भनिएकाे), कलाकार रिमा विश्वकर्मा, सनातन हिन्दूकाे प्रतिकूल साेच राख्ने खगेन्द्र सुनार, सांस्कृतिक विचलन ल्याउने गलत अभिव्यक्ति दिनेहरू साेबिता गाैतम, विनिता कठायत, स्वर्णम वाग्लेलगायतलाई खाेजीखाेजी उम्मेद्वार बनाएकाे छ ।
यस्ताेमा अर्काे गम्भीर कुरा के छ भने मतदाताले यसपालिकाे चुनावमा नयाँ भनिने रास्वपा बगैरह दलहरूकाे नेपाल र यहाँकाे संस्कृतिका प्रतिकूल विचार राख्नेमात्र नभई जेनजी विद्राेहमा प्रत्यक्ष संलग्न भएकाहरूपनि अधिकांशत: रहेकाले नयाँ यी रास्वपा, उनेपा, श्रम संस्कृति आदिलाई सामाजिक सञ्जालका प्रभावकाे भरमा भाेट दिएर देशमा विकास र पारदर्शिता हुने भनिएकाेमा हालसम्मका प्रवृत्ति यी दलका मान्छे जाे-जाे सत्तामा गएकालाई अथवा जेनजी विद्राेहमा गलत तरीकाले सामेल भएकालाई हेर्दा देशमा नयाँ केही नहुने बरू देशकाे अस्तित्वमा नै कतै सङ्कटमात्रामा त पर्ने हाेईन भनी साेचिरहेकाे आलाेकमा याे लेख लेखिएकाे छ ।
परिवर्तन चाहिएकाे हाे तर जलाएर, गल्हत्याएर हाेइन
नेपालमा भएकाे जेनजी विद्राेहका मूल मर्म नै अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत् सामाजिक सञ्जालकाे प्रतिबन्ध फुकुवा, भ्रष्टाचार हटाउन र सुशासनका निम्ति आर्थिकलगायत हरेक गतिविधिमा पारदर्शिता अनि स्थापित ठूला दलमा नेतृत्व-पुस्ताकाे परिवर्तन भनिएका थिए । यी परिवर्तन सबैकाे चाहना थिए तर यसका लागि भने जेनजी विद्राेहकाे भाेलीपल्ट विदेशी समर्थित टूलकिट, रकम लगानी र सिंहदरबार, संसद, अदालत, शितल निवास, बालुवाटार, काँग्रेस पार्टी कार्यालय आदि जलाइयून्, पूर्व प्रम शेरबहादुर देउवा दम्पत्तिमाथि खुँडा प्रहार हाेस् अनि पछि गएर काँग्रेसकाे नियमित महाधिवेशनबाट सहज नेतृत्व परउवर्तनकाे ठाउँमा विधानविपरीत विशेष महाधिवेशन गराइएर देउवाकाे नेतृत्वलाई गल्हत्याइयाेस् भनेर आम नेपाली जनताले चाहेका थिएनन् । हाे, स्वभाविक र नियमित परिवर्तन भने जनताले अवश्य चाहेका थिए ।
तसर्थ, काँग्रेसभित्रकाे दलगत कुराेकाे निराकरण निर्वाचन आयाेग र अदालतकाे रह्न गयाे तर देश जलाउने र मान्छेमाथि जानलेवा हमला (अधिकांशत: रास्वपाका मान्छेकाे संलग्नता, पूर्व भाषण स्वयम्ले दिए अनुसार प्रचण्डकाे संलग्नता र दुर्गा प्रसाईंकाे कागजातपनि अदालतबाट गायब पारिएकाे अथवा, जलाएर नष्ट पारिएकाे हुनसक्ने अवस्थाले उनकाे संलग्नता जस्ता कुरा) अब निष्पक्ष छानबिन गर्ने जाँचबुझ आयाेगकाे र पछि अदालती न्यायकाे पाटाे बन्न गएका छन् ।
पुस्तान्तरण नहुँदा भविष्य अन्याेलमा
नेपालका राजनीतिक दलहरूमा नेतृत्वकाे एकमना फैसला र प्राय: नेतृत्व नै नछाेड्ने गलत प्रवृत्ति देखिन्छ तर दल र देशमा उनकाे कारणले सकारात्मक परिवर्तन जनताले अनुभूति गर्न पाएमा ठिक थियाे । यस्ताे हुन नसकेर दलहरूमा, सत्ताकाे नेतृत्वमा असन्तुष्टि चुलिएकाे हाे । चाहे पूर्व माओवादी र नेकपा एस (हाल नेकपा प्रचण्ड र माधव नेपाल) मा हाेस् वा, एमाले, काँग्रेस, लाेसपा, जसपा, रास्वपा हाेस्- पार्छी नेतृत्व फेरिंदैन र सरकारमा जाँदा शीर्ष नेतृत्व नै जान्छन् वा अनुकूल अनुहार पठाउँछन् । यहाँ राेचक कुरा के छ भने २०७९ मा रास्वपाकाे विधिवत् गठन भएपछि सभापति र सरकारमा गृहमन्त्री उही मान्छे छन् जाे स्वयम् देशमा विभिन्न अपराधमा हिस्ट्री शीटर छन् तर अन्य दलमा भने रास्वपाकाे आराेप भने यस्तै हाे । अर्थात्, स्वयम् पहिला चाेखाे छैन तर अरूतर्फ आैंला तेर्स्याउने काम हुँदैछ । जनतामा निराशा अझ थपिएकाे छ यहाँ ।
पुस्तान्तरण दलहरूमा नहुँदा वर्तमान सभापति/अध्यक्ष रहेकाभन्दा मुनीकाे पुस्ता काँग्रेसमा उपसभापति भईसकेकाहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटाैलाहरू अथवा महामन्त्री र पदाधिकारी भईसकेका नेतृत्व र डा. शेखर काेइरालाहरू जस्ता सम्भावित नेताहरूले सरकारकाे नेतृत्व, दलकाे नेतृत्व गरेर आफ्नाे क्षमता प्रदर्शन गर्ने माैका नै पाएनन् । भने गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पाैडेल, गुरूराज घिमिरेहरूका अर्काे पुस्ता तयार भएर त्यतिकै उमेर बित्ने भयाे भन्ने पिरलाेमा छन् । यस्ताेमा देश चलाउने प्रशासनिक क्षमता र दल चलाउने, संगठन निर्माण गर्ने र जुझारूहरूकाे विगतकाे कार्यक्षमता हेरेर अब सरकार र दलमा नयाँहरूले मिलेर जानुपर्ने उपयुक्त देखिन्छ । काँग्रेसले टेक्निकली सभापति विशेष महाधिवेशनबाट गगन थापालाई चयन गरेर उनलाई नै प्रधानमन्त्रीमा अनुहार सारेर जाने भएतापनि वास्तवमा प्रमकाे लागि मधेशबाट निष्कलंक र सदाचारी नेता विमलेन्द्र निधि सबभन्दा बढी उपयुक्त पात्र हाे हरेक तवरले । हाल रास्वपाले मधेशी बालेन्द्र साहलाई प्रममा अगाडि सार्दा काँग्रेसलाई सबभन्दा उत्तम पात्र निधि हाे र, याे चुनाव जित्नलाई काँग्रसकाे लागि असली राजाीतिपनि सावित हुनेछ ।
तर नेतृत्व परिवर्तन भई पुस्तान्तरण नहुँदा अन्य नेतृत्व मारमा परेकाे काँग्रेसकाे यही हालत अन्य कम्युनिस्ट दल, लाेसपा, जसपा आदिमा देखिन्छ । रास्वपामा सभापति युवा नै छन्, बढी समयपनि भएकाे नेतृत्वमा छैन तर उनी हिस्ट्री शीटर रहेकाले त्यहाँ नेतृत्व परिवर्तन गरेर नेपाली समाज र संस्कृतिमा पाच्य हुने संस्कारित नेतृत्व आउनुपर्ने अपरिहार्य देखिन्छ ।
प्रधानमन्त्रीकाे अनुहार देखिए तर दलकाे घाेषणापत्र तथा सिद्धान्त देखिएन
याे लेख तयारपार्दासम्म घिसिङकाे उनेपा, हर्क राईकाे श्रम संस्कृति, उपेन्द्र यादबकाे जसपा, जनमाेर्चाकाे संघीयता हटाउनेवाला गरि केही दलकाे मात्र घाेषणा/वाचापत्र सार्वजनिक भएका हुन् । ठूला स्थापित दलहरू काँग्रेस, एमाले, नेकपा, राप्रपा, परिवर्तन ल्याएर देशकाे कायापलट गरिदिन्छाैं दाबी गर्ने रास्वपा स्वयम्काे भने घाेषणापत्र सार्वजनिक भइसकेकाे छैन । चुनावकाे लागि भने आगामी याेजनासहित घाेषणापत्र अनिवार्य मानिन्छ । कतिपय दल खासगरी रास्वपाले बालेन्द्र साह, काँग्रेसले गगन थापा, एमालेले केपी ओलीलाई भने प्रधानमन्त्रीमा नाम अगाडि सारेर उनीहरूकै अनुहारमा भाेट मागेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् भने नेकपाले घाेषणा नगरे पनि प्रचण्ड नै हुन् भन्ने लगभग ज्ञात कुरा हाे ।
खासमा यस पालिकाे चुनावमा भारतभन्दापनि (भारतमा प्रमकाे उम्मेदवारमा नाम ताेकिन्छ तर एउटै मञ्चमा बहस गराईंदैन उनीहरूबीच) अमेरीकाकाे जस्ताे (अमेरीकामा दलबाट राष्ट्रपतिकाे अनुहार पहिल्यै चयन गरेर सार्वजनिक मुद्दामा प्रतिस्पर्धीसँग बहस गराईन्छ) रास्वपाले पहिला प्रमकाे रूपमा बालेन्द्र साहकाे नाम सार्वजनिक गर्याे । तर प्रतिस्पर्धीसँग सार्वजनिक अजेण्डामा रहेर देश, संस्कृति र राष्ट्रियताकाे कुरामा भने साहले बहस गर्न मानेका छैनन् किनकि जेनजी विद्राेहमा उनकाे संदिग्ध गतिविधि प्राय: नेपालीकाे मनमा छ । साहले त्यसैले मैथिली भाषाकाे उखान “चाेर नै सहे ईजाेत्” अर्थात्, चाेरले प्रकाश (उज्यालाे) सह्न/देख्न सक्दैन (किनकि उज्यालाेमा चिनिनेभएर समातिने डर हुन्छ) जस्तै बहसबाट उम्केर तर अमेरीकामा जस्ताे झलक दिनेगरी “कार्यकारी राष्ट्रपति”काे व्यक्ति नै पार्टीकाे सबैथाेक जस्ताे पार्टी रास्वपाकाे टेकाेमा प्रमकाे उम्मेद्वार बनेर अब रास्वपालाई नै बेवास्तागर्दै देश दाैडाहामा मत माग्न हिंडेका छन् । चालाखीपूर्वक साह अमेरीकाकाे आधा अभ्यास प्रममा नाम तय गरेर देश दाैडिने तर सामूहिक बहसबाट भाग्ने गरेकाे माेही माग्ने तर ढुङ्ग्राे लुकाउने देखिन्छ । जनताले बुझ्नुपर्छ कि संविधानले वाक् स्वतन्त्रता, भाेट हाल्ने अधिकार दिएकाेलाई राम्ररी नेतृत्वबारे बहस, छलफल गरेर काे राम्राे छ, उसलाई मात्र जिताउने हाे, नत्र यस पालि देशकाे शासकीय राजनैतिक व्यवस्था, लाेकतन्त्र र देशकै अस्तित्वपनि सङ्कटमा पर्न जाने हुन् ।
चुनाव लाेकतन्त्रमा जरूरी हाे तर देश प्रथम साेच अत्यावश्यक
हाल चुनावमा प्रमुख ठूला दलहरूले, रास्वपा स्वयंले पनि घाेषणापत्र सार्वजनिक अहिलेसम्म नगर्दा, रास्वपाका मान्छेमा सार्वननिक बहस र पार्टीकाे सिद्धान्तबिना नै जसरीपनि देशकाे सत्ताकाे साँचाे लिनुपर्ने “बाध्यता”ले धेरै आशंका र प्रश्न एकसाथ जन्माएका हुन् । जस्तै, के जेनजी विद्राेहमा संदिग्ध संलग्नताबाट र नीजि विगतका अपराध लागेकाबाट “जाेगिन”लाई रवि लामिछाने र बालेन्द्र साहलाई सत्ता चाहिएकै हाे ? के जनताले अब देश पहिला बचाएर स्थापित पुरानै दललाई सत्ता दिने कि विकास र झूट्टा सपनामा सामाजिक सञ्जालले प्रभावित पार्दै आएका रास्वपाजस्तालाई सत्ताकाे साँचाे सुम्पिदिएर नेपालमा प्रत्यक्ष अमेरीका-पाकिस्तानकाे रणमैदान बन्न दिने ? यस्ताे दाेधारे अवस्थामा के नेपालमा ताेकिएकाे मिति फाल्गुण २१ मा चुनाव हुन अझै ढुक्क सरकार नै नहुँदा त कतै दलहरूले घाेषणापत्र सार्वजनिक गरेका छैनन् ?
यी प्रश्नहरूमाझ राष्ट्रपतिलाई बाध्यतामा पारेर विदेशी आक्रान्ताहरूले अवैधानिकरूपमा संसद बिघटन गराएकामा, विगतमा केपी ओलीले दुई चाेटी संसद बिघटन गर्दा अदालतले पुनर्स्थापनाकाे नजीर दिइसकेजस्ताे, नेपालकाे अस्तित्वलाई जाेगाउनलाई युनिवर्सिटि, प्रहरी सुरक्षा, अदालतसमेतले राम्ररी गम्भीर भई साेचेर पुरानाे नजीरलाई अदालतबाट कायम गरेर त्यही संसदकाे वैधानिक बन्ने सरकारले चुनाव सम्पन्न गराउने एक विकल्प सचेत नागरिक देशभक्तकाे मनमा छ । तर यसकाे अर्थ प्रतिगमन भएर राजतन्त्र आवाेस् पक्कै हाेईन, अपितु २०८२ भदाै २४ अघिकाे अवस्थामा नेपालकाे लाेकतन्त्रलाई लीकमा ल्याएर बरू संसदमा रहेका प्रमुख दलकाे नेतृत्वमा सर्वदलीय अल्पकालीन् सरकार गठन गरेर चुनाव गराइदिन बेस हाेला । याे स्तम्भकारले धेरै नेपाली, देशभक्त तथा लाेकतन्त्रका पक्षधरकाे मनभित्रकाे कुराेलाई राखिदिएकाे हो, बाँकी कुरा सम्मानिय अदालतकाे सुझबुझपूर्ण र बेलामा नै दिईने निर्णय देशकाे पक्षमा आयाे भने स्वगतयाेग्य सबैकाे लागि छ नै ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

